संघिय सरकारले काम गर्न दिएन : मुख्यमन्त्री शाही

शुक्रबार, २७ भाद्र २०७६

काठमाडौं – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संघिय सरकारले प्रदेश सरकारलाई काम गर्न नदिएको बताएका छन् । प्रदेश सरकारलाई जनताका समस्याहरुमा पूर्ण जानकार रहेको र जनपक्षिय काम गर्न खोज्दा संघिय सरकारले रोक्ने गरेको बताए ।

शुक्रबार काठमाडौंको संवाद डबलीमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्यमन्त्री शाही प्रदेश सरकारले गर्ने हरेक किसिममा कामहरुमा संघिय सरकार बाधक बनेको आरोप लगाए । उनले उदाहारण दिदै भने, ‘प्रदेश सरकारले दुरदराजका जनतालाई सेवा दिने उद्येश्यले एउटा हवाई जहाँज कम्पनी खोल्नका लागि हरेक प्रक्रिया पुरा गरेर प्रदेश सभाबाट विद्येक पारित गरेर, ऐन नियमसमेत बनाएर कम्पनी रजिस्ट्रारको कार्यलयमा दर्ता गर्न जाँदा दर्तानै नगरिदिएर प्रदेश सरकारलाई वडा कार्यलय भन्दा तल्लो स्तरको ब्यबहार गरेको छ । एउटा ब्यक्ति आउँदा वडाको सिफारिस विना दर्ता गरिदिने तर प्रदेश सरकारले प्रदेश सभाबाट पारित गरेर ल्याएको कुरालाई अल्झ्याउने जुन प्रक्रिया छ यो विकास विरोधि छ ।’ उनले प्रदेशमा एउटा कम्पनी दर्ता गर्नका लागि संघिय सरकारको मन्त्रीपरिषदको निर्णय चाहिने प्राबाधान जुन छ त्यो अन्त्य गर्नपर्ने बताए ।

मुख्यमन्त्री शाहीले संघिय सरकारले देशमा तीन ओटा सरकार छन् भन्ने कुरा विर्सेको भन्दै जनतालाई सेवा दिने कुरामा अवरोध नगर्न संघिय सरकारलाई चुनौति दिए । उनले तीनवटै तहको सरकार भएकाले उनीहरुबीचको बलियो सहकार्यमा मात्रै मुलुकलाई सहज ढंगले अघि बढाउन सकिने बताए ।

मुख्यमन्त्री शाहीले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारीको व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन् । उनले कर्मचारी समायोजनको काम तीन वटै तहमा भए पनि अपुग कर्मचारी पूर्ति गर्न सरकारले ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे । मुख्यमन्त्री शाहीले संघीय सरकारले प्रदेश र स्थानीय तह नभएजस्तो व्यवहार गरिरहेको उल्लेख गर्दै असन्तुष्टि पनि व्यक्त गरे ।