जहाँ सुनका पैसा बाँढिन्छ ! लिन जाने हो ?

शुक्रबार, १ कार्तिक २०७६

काठमाडौं – एउटा गाउँ थियो । त्यहाँका मान्छेहरु अर्काको कुरा सुनेर काट्न खप्पिस थिए । एक दिन त्यो गाउँमा आकाशवाणी भयो, ‘हे गाउँले हो ! तिमीहरुको दुःख हटाउन गाउँ बाहिरको चौरमा सरसल्लाह गर्नु छ, त्यसैले भोलि बिहान सात बजे सबै गाउँलेहरु चौरमा भेला हुनू ।’

भोलिपल्ट बिहान गाउँलेहरु चोकचोकमा भेला भएर एक आपसमा भन्न लागे–‘त्यो भेलामा को–को जान्छ को जाँदैन पहिला हेरौं अरु गएनन् भने हामी मात्रै किन जानू ? हामी आकाशवाणी सुनेको भरमा कुद्ने मान्छे कहाँ हौं र ?’

भेलामा थोरै गए धेरै गएनन् । साँझ फेरि आकाशवाणी भयो–‘ गाउँले हो, आज बिहानको भेलाले गाउँमा खुसी ल्याउने योजना बनाएको छ, त्यो सुन्न सबै गाउँलेहरु भोलि बिहानै एक एक रुपियाँ लिएर गाउँबाहिरको चौरमा भेला हुनु ।’ भोलिपल्ट बिहान पनि पहिलेजस्तै गाउँलेहरु चोकचोकमा बसेर त्यस्तै कुरा गर्न लागे । भेलामा थोरै गए धेरै गएनन् ।

साँझ फेरि आकाशवाणी भयो, ‘गाउँले हो ! हिजोको योजना र आजको निर्णयअनुसार भोलि बिहानैदेखि गाउँबाहिरको चौरमा सुनका पैसा बाँडिनेछ ।’ आकाशबाणीको सन्देश सकिन पाएकै थिएन सारा गाउँलेहहरु ‘अरु जाउन कि नजाउन् म चाँही जान्छु’ भन्दै भाइफल तोडेर कुद्न थाले । कसैलाई पत्र चाहिएन, कसैलाई ज्यू हजुर चाहिएन । सबै साँझैदेखि चौरमा भेला भए ।

बिहान देवदुतले आएर भने, ‘अस्तिको योजना र हिजोको निर्णयअनुसार आज तिनै गाउँलेले सुनका पैसा पाउँछन् जसले सुनका पैसा फलाउने योजनामा पनि साथ दिए । कुनै योजना र योजनालाई बनाउनेबारे सरसल्लाह गर्नुपर्दा परपर सर्ने अनि सित्तैमा पैसा भनेपछि रातबिरात पनि नभनी चौरमा बस्नेहरु यहाँबाट गए हुन्छ ।’

यसकारण, केही पाउनका लागि केही गुमाउनुपर्छ । समाजका लागि एक रुपियाँ पनि लगानी नगर्ने अनि अरुले गर्ने लगानी चाँही सबै मेरै लागि हुनुपर्छ भन्नेहरुको जमातमा कसैको राम्रो योजना पनि विफल हुन्छ ।