सडक खन्ने विषयमा झडप, आधा दर्जन बढि घाइते
बैतडी – बैतडीको दशरथचन्द नगरपालिका वडा नं ९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका बिषयमा गाउँलेहरुबीच भएको विवाद पछि झडप भएको छ । सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका बिषयमा दुई पक्षबीच कुराकानी नमिल्दा भडप भएको हो ।
झडपमा परि दुवै पक्षका ८ जना घाइत भएका छन् । सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए । सुण्न्नाखानदेखि पार्ससम्म जोड्ने सडकका बिषयमा पहिलादेखि विवाद रहेको र आज आफूहरुको जमीनमा डोजर चलाउँदा झडपको स्थिती आएको स्थानीय दुर्गादत्त जोशीले जानकारी दिए । आफूहरुको जमीनमा जबरजस्ती डोजर चलाएर लैजान खोजेको र स्थानीय गौरा जोशीलाई डोजरले फालेपछि झडपको स्थिती आएको उनको भनाई छ ।
तर सडक निर्माण गरिरहेको पक्षले भने सडक खन्दा एक्कासी आएर डोजरमा ढुंगामुढा गरेपछि झडपको स्थिती आएको बताएको छ । आफूहरुले सडक निर्माण गरिरहेको र एक्कासी डोजरमा ढुंगामुढा गर्दा झडप भएको सडक निर्माण समितिका अध्यक्ष केशवदत्त जोशीले जानकारी दिए । सडक लैजान नदिने पक्षका गौरा जोशी र सुरेशप्रसाद जोशी घाइते भएका छन् भने सडक निर्माण पक्षका नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन् ।
घाइते सबैको जिल्ला अस्पतालमा उपचार भईरहेको र घाइतेहरुको अवस्था समान्य रहेको जिल्ला अस्पातलका मेडिकल अधिकृत डा. वसन्तराज जोशीले जानकारी दिए । पार्ससम्म जोड्ने अर्को सडक पनि काट्ने काम भईरहेकोले गाउँलेहरु दुवै समूहमा विभाजन हुँदा झडप भएको प्रहरीले जनाएको छ । स्थानीयहरुको ढुंगामुढाले डोजरको सीसा फुटेको प्रहरीले जनाएको छ ।
ग्वाल्लेकमा निर्माण भईरहेको सडकका बिषयमा दुवै पक्षबीच पहिलादेखि विवाद रहेको र आफूहरुले मिलेर जान आग्रह गरिरहेको भएपनि आज एक्कासी झडप भएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले बताए ।