राष्ट्रपतिसमक्ष लिए सातै प्रदेशका प्रदेश प्रमुखले शपथ

मंगलबार, १९ कार्तिक २०७६

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार बिहान एक समारोहबीच सातवटै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरालगायत उपस्थित थिए ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले कांग्रेस सरकारले नियुक्त गरेका सातै प्रदेश प्रमुखलाई बर्खास्त गरेको थियो । कांग्रेस सरकारका पालामा नियुक्त प्रदेश प्रमुख हटाएपछि सत्तारूढ दलको सिफारिसमा सोमबार प्रदेश १ मा सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश ५ मा धर्मनाथ यादव, कर्णालीमा गोविन्द कलौनी र सुदुरपश्चिममा शर्मिलाकुमारी पन्त नियुक्त भएका थिए ।

यसरी नियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपतिले पद तथा गोपनीयताको शपथ गराउने संवैधानिक व्यवस्थाअनुसार मंगलबार शपथ गराइएको हो । शपथसँगै नवनियुक्त प्रदेश प्रमुखहरूलाई कार्यक्षेत्रमा गएर काम गर्न बाटो खुलेको छ ।