विश्वका बैज्ञानिकहरु पोखरामा

बिहिबार, २१ कार्तिक २०७६

काठमाडौं – विश्वका पशु बैज्ञानिकहरु पोखरामा भेला हुने भएका छन् । पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले विश्वभरका पशु बैज्ञानिकहरु पोखरामा भेला हुन लागेका हुन् ।

शुक्रबारदेखि चल्ने सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौँ अन्तरराष्ट्रिय सम्मेलनमा भागलिन बैज्ञानिकहरु नेपाल आएका छन् । नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्मेलनमा विश्वका करिब २४ देशका ४०० भन्दा बढी पशु चिकित्सा, पशु विज्ञान र मत्स्य क्षेत्रमा कार्यरत वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको सहभागिता हुने आयोजकले जनाएको छ ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, भूटान, अफगानिस्तान, चीन, थाइल्याण्ड, मलेशिया, इण्डोनेशिया, भियतनाम, सिङ्गापुर, जापान, ताइवान, ओमान, इजरायल र दक्षिण अफ्रिका, नाइजेरिया, अष्ट्रेलिया, न्यूजिल्याण्ड, संयुक्त राज्य अमेरिका, क्यानाडा, फ्रान्स, चेक रिपब्लिक र स्पेनलगायतका देशबाट प्रतिनिधिहरुको सहभागिता हुने बताइएको छ ।