पाँच महिनाका लागि प्रधानमन्त्री बन्दै इश्वर पोखरेल
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि अमेरिका प्रस्थान गर्ने भएका छन् । मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अमेरिका जान लागेका हुन् ।
मिर्गौला प्रत्यारोपण गर्न तीनदेखि पाँच महिना लाग्ने भएपछि उपप्रधानमन्त्री तथा रक्षा मन्त्री इश्वर पोखरेललाई पाँच महिनाका लागि कार्यबहाक प्रधानमन्त्री बनाउन लागिएको छ । प्रत्यारोपण गर्दा कम्तीमा तीनदेखि पाँच महिना पूर्ण रूपमा आराममा बस्नुपर्ने भएकाले ओलीले जिम्मेवारी हस्तान्तरण गर्न लागेका हुन् । यसअघि पनि ओली स्वास्थ्य उपचार र विदेश भ्रमणमा रहेका वेला पोखरेलले नै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
प्रधानमन्त्री र उपचारमा संलग्न चिकित्सकहरू नियमित डायलाइसिस होइन, प्रत्यारोपणमा जाने निष्कर्षमा पुगेपछि उनलाई नेपालमा उपचार गर्नेकी विदेशमा भनेर बहस भएको थियो । शनिबार अस्पतालमा पनि यो विषयमा छलफल भएको थियो । प्रधानमन्त्री र उनका परिवारले नेपालमै प्रत्यारोपण गर्दा सफल हुने सम्भावना कति छ भनेर चिकित्सकहरूसँग पटकपटक जिज्ञासा राखेका थिए ।
चिकित्सकहरूले शतप्रतिशत भन्न नसकिने, तर विदेश र नेपालमा भिन्नता नहुने स्पष्ट पारेका थिए । प्रधानमन्त्री ओली र उनको परिवार अमेरिकामै प्रत्यारोपण गर्ने निश्कर्षमा पुगेको बुझिएको छ । तर अमेरिकामा उपचार गर्दा केही कानुनी जटिलताहरु भने हुनसक्छन् ।