मकवानपुरमा फेरी गोली चल्यो
काठमाडौं – मकवानपुर प्रहरीले फेरी गोली चलाएको छ । प्रहरीले गाँजा बोकेका दुई वटा गाडी नियन्त्रणमा लिन हवाई फाएर गरेको हो ।
शुक्रबार मध्यराति चितवनबाट पूर्वी तराईतर्फ जाँदै गरेका ५० किलोग्रामभन्दा बढी गाँजा बोकेका एउटा ट्रक र भारतीय नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको हो।
विशेष सुराकीका आधारमा पूर्व–पश्चिम राजमार्गअन्र्तगत हेटौडा उपमहानगरपालिका–१५, रातोमाटे र चुरियामाईको बीच जंगलबाट गाँजा बोकेका दुई वटा गाडी र चार जनालाई नियन्त्रणमा लिएको मकवानपुरका प्रहरी प्रमुख एवं एसपी सुशीलसिंह राठौरले जानकारी दिए।
तीव्र गतिमा गुडिरहेका गाडी चेक पोस्टमा नरोकिएपछि हवाई फायर गरी तर्साएर नियन्त्रणमा लिएको राठौरले बताए। हवाई फायर गरेपछि ट्रक चालक बा५ख ७२६८ नबरकोे ट्रक छाडेर जंगलतर्फ भागेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ गाउपालिका–।५ बस्ने वर्ष ३५ को राजकुमार मोक्तान छन्। उनको साथबाट लागुऔषध गाँजा २० किलो गाँजा बरामद गरिएको छ।
यस्तै डीएल३सीएक्यु ४१७२ भारतीय नम्बर प्लेटको कार र चालक भारत मोतिहारी पूर्वी चम्पारण बस्ने वर्ष ३७ को दिलिपकुमार सिंह, कारमा सवार भारत रघुनाथपुर बस्ने वर्ष १८ को उज्जवलकुमार ठाकुर, रौतहट, यमुनामाई–४ बस्ने वर्ष २४ को विकाश सिंहलाई प्रहरीले पक्राउ गरेको छ।उनीहरूले चार वटा पोकामा राखेको अन्दाजी ३२ किलो लागुऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।