ओस्कारका ६ विधामा मनोनित ‘प्यारासाइट’

बिहिबार, ९ माघ २०७६

काठमाडौँ -विज्ञानमा आफूभन्दा बलियो जीवको शरीरभित्र बसेर तिनको पौष्टिक तत्वबाट आफ्नो जीवन चलाउने जीवलाई परजीवि भनिन्छ । आँखाले देख्न नसक्ने सानो कुरा मानिए पनि पछि खतरनाक जीवका रूपमा देखा पर्छ, परजीवि । आफ्नो अस्तित्वका लागि अर्कोमा निर्भर हुने परजीविले ढिलोचाँडो आश्रय लिएकै जीवलाई हानी पुर्याउँछ ।

दक्षिण कोरियाली निर्देशक बोङ जो हु निर्देशित प्यारासाइटु मा परजीविको यस्तै विशेषता मानव सम्बन्धसँग जोडेर चित्रण गरिएको छ ।

डार्क कमेडी थ्रिलर फिल्म प्यारासाइटमा किम परिवार आफ्नो जीविकाको लागि पार्क परिवारभित्र फैलिन्छन् । पार्क परिवारमा आएको कठिनाइबाट उनीहरू आफैं पनि प्रभावित हुन्छन् ।

प्यारासाइटुमा पात्रहरूको अस्तित्व परजीवि जस्तै छ ।

दक्षिण कोरियाको राजधानी सिओलको एउटा सानो र अव्यवस्थित भुइँतले अपार्टमेन्टबाट कथा सुरू हुन्छ ।

किम, उनकी श्रीमती चोङ सुक र छोराछोरी किओ र किजङसहित चारजनाको परिवार बस्ने त्यो ठाउँ सुकुम्बासी झुपडीभन्दा फरक छैन । अवकाशप्राप्त खेलाडी किम बेरोजगार छन् । श्रीमती चोङ सुक र उनी मिलेर घरमा पिज्जाको बट्टा बनाउने काम गर्छन् ।

यो काम उनीहरूको जीविकाको संकट टार्न पर्याप्त हुँदैन । ठूला भइसकेका छोराछोरीको आर्थिक अभावकै कारण पढाइ पनि रोकिएको हुन्छ ।

यसैबीच छोरा किओले साथीमार्फत् झुट बोलेर र फर्जी कागजात बनाएरै भए पनि धनी व्यक्ति पार्कको घरमा निजी शिक्षकको काम पाउँछन् । पार्क परिवारको सम्पन्न वातावरण र त्यहाँको हरेक अवसर किओले आफ्नो परिवारको गरिबी हटाउने माध्यम बनाउँछन् । अनेक जुक्ति लगाएर किम परिवारका सबै सदस्य अज्ञात रूपमा पार्क परिवारका लागि काम गराउन सफल हुन्छन् ।

फिल्म आधासम्म आइपुग्दा दर्शकलाई हरेक पात्रको चरित्र, व्यवहार र तिनको सरल अभिनयले कुनै पारिवारिक हाँस्यप्रधान फिल्म हेरे जस्तो लाग्न सक्छ । जब यी विपन्न र सम्पन्न परिवारका पात्र एकआपसमा ठोक्किन्छन्,कथाले नयाँ मोड लिन्छ ।

यी दुई परिवारका सदस्यको परिस्थिति एकै ठाउँमा जोडेर निर्देशक बोङले समग्र दक्षिण कोरियाकै धनी र गरिबबीचको खाडल र त्यसबाट उब्जेका समस्या इंगित गरेका छन् ।

पारिवारिक मुद्दाबाट यसले सामाजिक, वर्गीयदेखि पारमाणिक र जलवायु परिवर्तनका असरसम्म जोड्छ । निर्देशकले यो काम यति चलाखीपूर्वक गर्छन्, मानौं फिल्म सकिएपछि मात्रै दर्शकले आफूले एउटा रमाइलो होइन, गम्भीर फिल्म हेरेको चाल पाऊन् ।

अभिनय, संवाददेखि प्रस्तुति अत्यन्त सरल र जीवन्त हुनु प्यारासाइटको विशेषता हो । कथाको महत्वपूर्ण मोड कलाकारको सरल अभिनयभित्र लुकिरहेको हुन्छ । बेस्ट पिक्चर, ओरिजिनल स्क्रिन प्ले, निर्देशन, फिल्म सम्पादन, उत्पादन डिजाइन र अन्तर्राष्ट्रिय फिचर फिल्म गरेर छ विधामा ओस्कार अवार्डमा मनोनित हुनुले पनि कथाबाहेक फिल्मको अन्य पक्ष पनि उत्तिकै सबल छ भन्ने प्रस्ट हुन्छ ।

सिनेमाटोग्राफी सुन्दर मात्रै छैन, फिल्मको मुख्य विषय चित्रण गर्न सघाउने खालको छ । कथाभित्र गरिब पात्रको आफ्नो ुलाइन क्रसु नहोस् भन्नेमा धनी पात्र पार्क जसरी सचेत छन्, त्यो सचेतता क्यामराको एंगलिङमा पनि अपनाइएको छ ।

 

फिल्ममा पटकपटक प्रयोग हुने “द लाइन” धनी र गरिबबीचको सीमा हो । यसले दुई परिस्थितिमा बाँचेका परिवारको विशाल भिन्नता चित्रण गर्छ । एकातिर बाध्यता छ, अर्कोतर्फ सौख । एकै कारणले दुई परिवारलाई पार्ने फरक असर फिल्ममा व्यंग्यात्मक बनिदिन्छ ।

हाइ एंगल र लो एंगल खिचाइबाट पात्रको मनोदशा र स्थिति देखाइएको छ । दृश्यमा आउने उकालो र ओरालो, उज्यालो र अँध्यारोलाई उपलब्धि र निराशासँग, सफलता र असफलतासँग जोडेर हेर्न सकिन्छ । बेरोजगार किओले एकाएक धनीका घरमा काम पाएको कुरा देखाउँदा दृश्य छायाबाट चर्को घामतिर प्रवेश गराउनु यसैको एउटा उदाहरण हो ।

फिल्मको पहिलो दृश्यमा घामको किरण विरलै छिर्न सक्ने भुइँतले घरको झ्याल छेउ मोजा सुकाइएको छ र त्यसैको मुनि छन् किओ । यसले उनी गरिबी रेखाभन्दा धेरै तलको व्यक्ति हुन् भन्ने संकेत गर्छ । हलुका घामको किरण उनको परिवारको कमजोर स्थितिको प्रतीक हो । यही घाम धनीको घरबाट हेर्दा आँखै लोभ्याउने गरी, आकाश टल्काउने गरी लाग्छ ।

निर्देशक बोङका यसअघिका फिल्ममा पनि क्यामराको यस्तै प्रयोगले पात्रको स्थिति अनुमान लगाउन सकिन्छ । पात्र दायाँबाट बायाँको दिशामा जाँदा होस् वा क्यामरा कोणले पात्रलाई देखाउने दिशाले तिनको जीवनमा भइरहेको र हुन लागेको परिस्थिति झल्काउँछ ।

कान फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको प्यारासाइट कानमा पाम डिुअर ९सर्वोत्कृष्ट फिल्म जित्ने पहिलो कोरियाली फिल्म हो । गत महिना सम्पन्न गोल्डेन ग्लोब अवार्डमा विदेशी भाषाको उत्कृष्ट फिल्म बन्न सफल प्यारासाइट यति बेला आगामी फेब्रुअरीमा हुने ओस्कार अवार्डको छ विधामा मनोनित भएयता थप चर्चामा आएको छ ।

धेरै समीक्षकले “बोङ एट हिज बेस्टु भनेको कोरियाली फिल्म प्यारासाइटले आगामी फेब्रुअरीमा हुने ओस्कारमा कुनै अवार्ड जित्ने आशा गरिएको छ ।