नेपालमा भ्रम छर्दै भारतीय बीमा कम्पनी, यस्तो छ नेपाली लुट्ने एलआइसीको नयाँ धन्दा
काठमाडौं – भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआइसी नेपाल)ले नेपालमा भ्रमको खेति गरिरहेको पाइएको छ । संचालक समिति अध्यक्ष, संचालक समितिका बहुमत सदस्य तथा माथिल्लो तहका कर्मचारीसमेत भारतीय रहेको एलआइसी नेपालले नेपाली जनतामा बोनस दरको विषयलाई लिएर भ्रम छरिरहेको छ ।
भारतीय कम्पनी एलआइसीले नेपाली बीमा बजारमा भ्रम छर्नका लागि आफ्नो बोनस दर उच्च रहेको भन्दै जनता फसाइरहेको छ । एलआइसीले केही समयदेखि गर्दै आएको बिज्ञापनमा रु ६६ देखि ८५ सम्म बोनस रहेको भन्दै हल्ला गरिरहेको छ ।
उसले हाइलाइट गरेर गरेको विज्ञापनमा अफवाह फैलाइएको छ । उसको आधिकारिक बोनस दर ६६ रुपैयाँ प्रतिहजार प्रतिबर्ष मात्र हो । ८५ रुपैयाँ भनेर हल्ला गर्दै आएको एलआइसीले नेपाली जनतामा अफवाह फैलाउँदै जनता ठग्ने नियत रहेको बुझिएको छ ।
के हो बोनस दर ?
बोनस भनेको सामान्य भाषामा भन्नुपर्दा बीमा गर्ने व्यक्ति वा उसको आफन्तले पाउने प्रतिफल हो । त्यो बीमा कम्पनी अनुसार फरक फरक हुन्छ । यसलाई अझै बुझ्नेगरी भन्नपर्दा इन्सुरेन्स कम्पनीले दिने व्याज हो । जस्तै बीमा कम्पनीका एजेण्टहरु गाउँघरमा आएर तपाई बीमा गर्नुहोस् यति बर्षपछि दोब्बर पाउनुहुन्छ भनेर भन्ने गर्दछन् । त्यो दोब्बर भनेको नै बोनस हो । त्यो बीमा अवधि अनुसार दोब्बर हुन पनि सक्छ नहुन पनि सक्छ ।
बोनस दर स्थिर हुँदैन । कम्पनीले दिने प्रतिफलका आधारमा बोनस दर हरेक बर्ष घटिबढि भइरहन्छ । बोनस दर हेरेर बीमा गरियो भने फस्ने खतर पनि हुन्छ । नेपाली बीमा बजारमा देखिएको अस्वस्थ प्रतिष्पर्दाका कारण बीमा कम्पनीहरुले आफ्नो बोनस दरलाई देखाएर जनतामा भ्रम छर्दै व्यापार गरिरहेका छन् । एलआइसीको बास्तविक बोनस दर ६६ रुपैयाँ हो भने २५ बर्ष भन्दा लामो अवधिका लागि बीमा गरेको खण्डमा ८० रुपैयाँ बोनसको व्यवस्या छ । तर उसले जनता फसाउन ८५ रुपैयाँ बोनस छ भनेर हल्ला गरिरहेको छ ।
बोनस भनेको कम्पनीको अवस्था कस्तो छ ? भनेर दिने जानकारीको रुपमा पनि बुझ्ने गरिन्छ । बीमा कम्पनीको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मुल्याङ्कन पछि बीमा समितिले बीमाको बोनस दर हरेक बर्ष तोकिदिने गर्दछ । त्यो बोनस दर अर्को बोनस दर कायम नहुँदा सम्मका लागि लागु हुने गर्दछ । बोनस दर बीमाको पोलीसी जहिले जारी भएको भएता पनि यो बर्ष कति बोनस छ त्यहि अनुसारको प्रतिफल बीमितले पाउने गर्दछन् । जस्तै एक जना व्यक्तिले २०७० सालमा बीमा गरेको थियो र त्यो समयमा एउटा कुनै कम्पनीको बोनस दर ६५ प्रतिहजार थियो । तर कम्पनीको आर्थिक स्थिति खस्कियो र २०७५ सालमा उसको बोनस दर ६० रुपैयाँ कायम भयो भने उसले ६० रुपैयाँका दरले प्रतिफल पाउँछ ।
कसरी भयो बदमासी ?
जुन योजनाका लागि भनेर बजारमा हल्ला गरिरहेका छ त्यो योजनामा सहभागि नहुनु भनेको असफल हुनु हो । अथवा त्यो योजना मन नपराउनु हो । नेपाली बीमा बजारमा ठिक उल्टो भइरहेको छ । जुन योजनालाई हाइलाइट गरेर प्रचार प्रसार गरिन्छ त्यो योजनामा कोही पनि सहभागि हुँदैन तर फेरि पनि त्यहि गरिन्छ ।
नेपालमा बीमाको बारेमा अझैंपनि ७० प्रतिशत जनतालाई जानकारी नभएको एउटा तथ्याङ्क छ । जानकारी भएपनि बीमा नगर्नेहरुको भीड पनि उस्तै छ । नेपालको बीमा बजार अहिले २० प्रतिशत जनताको पहुँचमा पुगेको छ । एक इन्सुरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले त नेपाल बीमा बजार पुरै खाली भएको भन्दै आइरहेका छन् ।
त्यहि खाली बजारलाई प्रभावित पार्नका लागि एलआइसी नेपालले धेरै बोनस दर भएको कम्पनी भन्दै प्रपोकाण्डा गरिरहेको छ । बोनस दरलाई लिएर गर्ने फण्डाले खाली रहेको नेपाली बीमा बजारमा ठग्न सकिन्छ भन्ने नियत रहेको बुझिन्छ । नेपाली जनताले पहिला त बीमा गर्दै गर्दैनन् गरे पनि १५ बर्ष भन्दा माथिको बीमा विरलैले गर्छन् । एलआइसीको १५ बर्ष अवधिका लागि कायम भएको बोनस दर ६६ रुपैयाँ हो ।
नेपाली जनताले सबैभन्दा धेरै रोजेको बीमा अवधि भनेको १५ बर्ष हो । त्यो भन्दा माथिको बीमा गर्ने धेरै कम हुन्छन् वा हुँदै हुँदैनन् । यसरी ६६ रुपैयाँ बोनस भएको एक कम्पनीले जनतालाई झुक्याउन धेरै बोनस रहेको भन्दै प्रचार गर्ने र जनता पनि धेरै प्रतिफलको आश गर्दै अन्त्यमा ६६ रुपैयाँमै चित्त बुझाउनु पर्ने बाध्यता छ ।
८५ प्रतिशत बोनस दिन्छु भन्दै फकाउने र अन्त्यमा ६६ मा फसाउनु भनेको ठगी हो । यसमा नियामक निकायको ध्यान जना जरुरि छ ।
कति हो त एलआइसीको बोनस ?
एलआइसी नेपालको बोनस दर ५ बर्ष देखि १९ बर्ष अवधिका लागि ६६ प्रतिहजार प्रतिबर्ष रहेको छ । यदी त्यो भन्दा लामो अवधिका लागि बीमा गर्नेहरुलाई फरक फरक बोनस छ ।
बिभिन्न नाम गरेको बीमा योजना अनुसार फरक फरक बोनस दर भएपनि मुख्यतया २० बर्षभन्दा लामो अवधिको बीमा गर्नेहरुका लागि ७० रुपैयाँ बोनस कायम गरिएको छ ।
२५ वा २५ भन्दा लामो अवधिका लागि बीमा गर्ने हो भने ८० रुपैयाँसम्म बोनस एलआइसीले तोकेको छ ।
कहाँबाट आयो ८५ प्रतिशत ?
एलआइसीले जनता फसाउनका लागि बीमा समितिलाई प्रलोभनमा पारेर नयाँ बीमा योजना ल्याएको छ । ‘जीवन आस्था’ नामक बीमा योजनामा उसले ८५ रुपैयाँसम्मको बोनस दर कायम गरेको छ । ३ बर्ष र ५ बर्ष बीमा अवधि रहेको यो योजनामा सहभागिता जनाउनेले ८० र ८५ रुपैंयाँ बोनस पाउँछन् ।
यो योजना प्रायलाई जानकारी छैन । बीमा कम्पनीका अभिकर्ताहरुले पनि यो योजनालाई राम्रोसँग मार्केटिङ गरिरहेका छैनन् । यो जनता फसाउनलाई ल्याएको योजना भएकाले अभिकर्ताले पनि फस्ने डरले यो योजनाका मार्केटिङ नगरेका हुन् । बिज्ञापन गर्नका लागि ल्याएको यो योजनामा अभिकर्ताले पनि चासो नदेखाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । कम्पनीले यसलाई देखाएर अन्य बीमा योजनामा जनता फसाउन सजिलो हुने भएकाले बीमा समितिलाई प्रभावमा पारेर यो योजना लागु गरेको बुझिएको छ ।
अभिकर्ताले यो योजनालाई बेच्न नसक्नुको मुख्य कारण हो छोटो समयावधि हो । छोटो समय र थोरै बोनस आउने भएकाले बेच्च रुचि नदेखाएको बीमा क्षेत्रका बिज्ञहरुको भनाई छ । बीमा कम्पनीले पनि यो योजनालाई जोडदार रुपमा बेच्नका लागि पहल गरेको छैन ।
भारतले नेपाली सीमाना मात्र अतिक्रमण गरेको छैन बीमा बजारमा पनि अस्वस्थ प्रतिष्पर्दा गर्दै लुट मच्चाइरहेको छ । नेपालको बीमा बजरमा एलआइसीको लुट र पुँजी पलायनका विषयहरु समेटिएको विशेष सामग्री अर्को अंकमा हेर्न सक्नुहुनेछ ।
