घर-घरमा ग्यास पुर्याउने युवामा कोरोना संक्रमण
बारा – बाराका एक कोरोना संक्रमित युवा घरघरमा ग्यास पुर्याउने काम गर्ने गरेको पाइएको छ । जिल्लाकाबिश्रामपुर गाउँपालिका–४ बलिरामपुरका कोरोना संक्रमित युवकले साइकलमा राखेर उपभोक्ताको घरघरमा ग्यास पुर्याउने गरेको खुलेको हो ।
पर्साको वीरगञ्जको इनर्वाचोकमा ग्यास पसल सञ्चालन गर्दै आएका युवकले बलिरामपुर टोलका घरघरमा ग्यास पुर्याउने गरेका थिए । बिश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउतले भने, ‘बलिरामपुरका १६ वर्षीय युवकले वीरगञ्जमा रहेको पसलबाटै उपभोक्ताको डिमान्ड अनुसार साइकलमा राखेर घरघरमै ग्यास पुर्याउने गर्दै आएका थिए ।
युवकमा कोरोना पुष्टि भएको खबर पाउने वित्तिकै उनको परिवारका अन्य सदस्यलाई क्वारेन्टाइनमा राख्ने विषयमा सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीसँग सल्लाह भइरहेको उनले बताए ।
युवकलाई भने उपचारको लागि वीरगञ्जस्थित नारायणी अस्पताल लगिएको छ । ती युवकका घरमा आमा, बुबा, भाइ र एक जना बहिनी रहेको र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको उनले बताए ।