तीन दिनअघि सुनसरीबाट आएकी थिइन भक्तपुरकी कोरोना संक्रमित महिला

बुधबार, ३१ बैशाख २०७७

काठमाडौं – भक्तपुरमा कोरोना संक्रमण पुष्टि भएकी महिला तीन दिनअघि सुनसरीबाट आएको खुलासा भएको छ । मंगलबार भक्तपुरमा देखिएका दुईजना कोरोना संक्रमितमध्ये २५ वर्षीय महिला सुनसरीको झुम्काबाट भक्तपुर आएकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बताइन ।

युवतीलाई हिजै टेकु अस्पताल भर्ना गरिएको छ। संक्रमित युवतीकी साथी स्टाफ नर्स रहेको र उनलाई पनि निगरानीमा राखेर परीक्षण गर्ने तयारी गरिएको छ। थप विवरण लिने काम भइरहेको छ।

यस्तै भक्तपुरकै अर्का संक्रमित २७ वर्षीय पुरुष दुवाकोटको रहेको खुलेको छ। तर उनमा कसरी संक्रमण सर्यो भन्ने कुरा प्रष्ट हुन सकेको छैन।

उनले आफू कतै बाहिरबाट पनि नआएको बताएका छन्। अहिले उनको परिवारलाई सिल गरिएको छ। युवकलाई भने हिजै टेकु अस्पताल भर्ना गरिएको छ।

दुबै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख एसपी सविन प्रधानले जानकारी दिए।