कोरोनाबाट मृत्यु भएकी महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार
काठमाडौं – कोरोना संक्रमणबाट मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलाको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। सुरक्षास्रोतका अनुसार उनको विद्युतीय शवदाह गृहमा शव जलाइएको हो ।
धुलिखेल अस्पतालमा मृत्यु भएकी ती महिलाको शव एम्बुलेन्समार्फत पशुपति आर्यघाट ल्याइएको थियो भने धुलिखेलबाट इन्सपेक्टरको कमाण्डमा प्रहरी टोली, नेपाली सेनाका दुई जना प्रतिनिधि, स्वास्थ्य मन्त्रालयका एक प्रतिनिधि तथा परिवारका सीमित सदस्य आर्यघाट पुगेका थिए ।
यस्तै महानगरीय प्रहरी बृत्त गौशालाको प्रहरी पनि पशुपति पुगेको उच्च स्रोतले बतायो । मन्त्रालयका अनुसार मृतक महिला ८ दिनकी सुत्केरी हुन् । उनले त्रिवि शिक्षण अस्पतालमा वैशाख २४ गते शिशुको जन्म दिएकी थिइन् भने २५ गते डिस्चार्ज भएर सिन्धुपाल्चोकस्थित घर गएकी थिइन् ।
तर घर गएपछि उनलाई ज्वरो आउनुका साथै स्वासप्रश्वासमा पनि समस्या देखिएपछि स्थानीय अस्पतालमा भर्ना लगिएको थियो । तर त्यहाँ कोरोनाको आशंका गर्दै धुलिखेल अस्पतालमा रिफर गरिएकोमा बाटैको उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।