छोरी लिन गाउँ गएका व्यक्ति कोरोना लिएर फर्किए !

बुधबार, ७ जेष्ठ २०७७

काठमाडौं – मंगलबार काठमाडौंमा तीन जना कोरोनाभाइरसका संक्रमित थपिएका छन । तीमध्ये १ जना सिनामंगलको कालीमाटी डोलका रहेको बुझिएको छ।

काठमाडौं ९ का वडाध्यक्ष रामकृष्ण जयखु श्रेष्ठले ती युवा उक्त टोलका स्थानीय भने नभएको बताए। ‘उनी रौतहटबाट काठमाडौं आएका हुन्। मजदूरी काम गर्दा रहेछन्,’ वडाध्यक्ष श्रेष्ठले भने,‘लकडाउनपछि वैशाख १५–१६ गतेतिर रौतहट गएको र २६ गते छोरी लिएर काठमाडौं फर्केका रहेछन्।’

काठमाडौं आएपछि उनी आफैं टेकु गएर कोरोनाको परीक्षण गराएका थिए। परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण देखिएपछि सोमबार नै एम्बुलेन्समा राखेर अस्पताल लगिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए।

ती युवामा कोरोना देखिएपछि उनकी श्रीमती र छोरीहरूसहित उक्त घरमा बस्ने ९ जनामा आरडिटी परीक्षण गरिएको र उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ।

‘पिसिआर परीक्षणका लागि पनि स्वाब पठाएका छौं। त्यसको रिपोर्ट नआउन्जेल उक्त टोल सिल गरिएको छ,’ वडाध्यक्ष श्रेष्ठले भने। काठमाडौंमा आजै थपिएका अर्का संक्रमित भने बागबजारको छापाखानामा काम गर्ने व्यक्ति भएको खुलेको छ।