कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु, १३ जना संक्रमित थपिए

बुधबार, ७ जेष्ठ २०७७

बुटवल – कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । गुल्मीका ४१ वर्षीय पुरुषको बुधबार विहान मृत्यु भएको हो ।

गुल्मी मदाने गाउँपालिका–६ का उनको रपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।

उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो । शुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

त्यस्तै, थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा रुपन्देही र कपिलवस्तुमा गरी थप १३ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

प्रयोगशाला स्रोतका अनुसार १२ जना कपिलवस्तु र एक जना रुपन्देहीका युवकमा कोरोना संक्रमण देखिएको हो । उनीहरु सबै जना भारतबाट फर्किएर क्वारेण्टाइनमा बसेका व्यक्‍ति हुन् ।

स्वास्थ्य मन्त्रालयले भने यसको औपचारिक जानकारी दिइसकेको छैन ।