नयाँ नक्सा अनुसार नेपालको क्षेत्रफल कति हो ? बाहिर आएका सबै विवरण गलत

बुधबार, ७ जेष्ठ २०७७

काठमाडौं – नेपालको कुल क्षेत्रफल कति हो ? मन्त्रालय पनि वेखर रहेको पाइएको छ । २०३० साल यता नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार १ सय ८१ बर्ग किलोमिटर रहदै आएकोमा नयाँ जारीको नक्सानुसार कति क्षेत्रफल थपियो भन्नेबारे मन्त्रालय बेखवर छ ।

बुधबार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री पद्मा अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनीतिक नक्सा औपचारिक रूपमा सार्वजनिक गरिन् ।

तर, उनले तीन पेज लामो प्रेस विज्ञप्तिमा थपिएको नेपाली भूभागको क्षेत्रफल कति हो भन्ने खुलाइनन् । लिपुलेक, लिम्पियाधुरा र कालापानी भूभाग समेटिएको अद्यावधिक (राजनीतिक र प्रशासनिक) नक्सा सार्वजनिक भएको छ ।

त्यसो भए थपिएको भूगोलको क्षेत्रफल कति ? हामीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका प्रवक्ता जनकराज जोशीलाई सोध्यौँ ।

उनले जवाफ दिए, ‘अहिले नापी विभाग थपिएको भूगोलको क्षेत्रफलको संघिय सरकार गणनाको काम गर्दै छ । त्यो सम्पन्न हुनेबित्तिकै क्षेत्रफल सार्वजनिक गर्छौं । अहिले आएका तथ्यांक आधिकारिक होइनन् ।’ उनका अनुसार अहिले चर्चा भएको १ लाख ४७ हजार ५१६ बर्ग किलोमिटर गतल हो ।

मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्ले सोमबार मात्र नक्सा स्वीकृत गरेकाले भूगोलको क्षेत्रफलको संघले गणनाको काम हुँदै छ । नक्सा बुधबार जारी भएको छ ।

अब राजपत्रमा केही दिन भित्र नक्सा प्रकाशित भएपछि औपचारिक रूपमा क्षेत्रफल गणना सम्पन्न गरी सार्वजनिक गर्ने तयारी छ ।

सन् १८१६ मार्च ४ मा तत्कालीन इष्टइन्डिया कम्पनी र नेपाल सरकारबीच भएको सुगौली सन्धिअनुसार कालीनदी र सोभन्दा पूर्वको भूभाग नेपाल राज्यको अभिन्न अंग भएको, तर हाल नेपालमा प्रचलित नक्साहरूमा कालीनदीपूर्वका गुन्जी, नाभी, कुटीलगायतका केही भूभाग समेटिएको नदेखिएकोले ती भूभागसमेत देशको सिमानाभित्र पर्ने गरी तथा कालीनदीको उद्गमस्थल लिम्पियाधुरासम्म नक्सामा देखिने गरी नेपालको अद्यावधिक प्रशासनिक नक्सा जारी भएको छ ।

४ मार्च सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार कालीनदीलाई सीमानदी भनिएको छ । तर, ब्रिटिस भारत र भारत सरकारले जारी गरेका नक्सामा भरपर्दा नेपाली भूमि नेपाली नक्सामा परेको थिएन ।