जब मध्यरात काँग्रेस नेता आलमको घरमा पुग्यो प्रहरी, तव पट्कियो बन्दुक

शुक्रबार, ९ जेष्ठ २०७७

रौतहट – राजपुर बमकाण्डमा पक्राउ परेको काँग्रेस नेता एवम् पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले खानतलासी गरेको छ ।

सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे आफताब आलमको घरमा पुगेको थियो । महताब आफताब आलमका भाइ हुन् ।

‘बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक रविराज खड्काका अनुसार आलमलाई पक्राउ गर्न प्रहरी टोली उनको घरमा गएको थियो । खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरेपछि प्रहरीले हवाई फायर समेत गरेको खड्काले बताए ।

अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाई फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताए । ‘हामीले खोजेको व्यक्ति महताब आलम फेला परेनन्’ उनले भने ‘फरार रहेका सबैको खोजी कार्य जारी छ ।’

राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा छन् ।

के हो राजपुर बमकाण्ड ?

२०६४ चैत्र २७ गते राजपुर फरहदवामा रहेको नेपाली कांग्रेसका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा भएको सो विस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरूलाई नजिकैको इँटाभट्टामा लगेर पोलेको आरोप आलममाथि लागेको छ ।

विष्फोटमा परी कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन थिएन । तर, सरुअठाका २४ वर्षका त्रिलोकप्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरी दिएको १२ वर्षपछि प्रहरीले रौतहट क्षेत्र नं. २ का सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई २०७६ असोज २६ गते इद्रिस गेट अगाडिबाट पक्राउ गरेको थियो ।

आलमलाई बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका जीवित घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा समेतको अभियोगमा जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ मा पुर्पक्षको लागि कारागार चलान गरेपछि हाल उनी काठमाडौंको नख्खु कारागारमा छन् ।