सरकारले युद्धस्तरमा काम गरेपछि उपेन्द्र यादवलाई छटपटी
काठमाडौं – नेपाल सरकारले पछिल्लो समय युद्धस्तरमा काम गरिरहेको छ । नेपालको नयाँ नक्सा पारित गर्नेदेखि सार्वजनिक गरेको र संविधान संशोधन प्रस्ताव गरिएपछि जनता समाजवादी पार्टीलाई छटपटी भएको छ ।
जसपा नेपालका नेता उपेन्द्र यादवले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता भएपछि संविधान संशोधन प्याकेजमै हुनुपर्ने बताएका छन् । सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचीमा राख्नका लागि संविधान संशोधन गर्ने भनि आजको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको थियो । लगत्तै कानुनमन्त्री शिवमाया तुमहाम्फेले संसदमा संशोधन प्रस्ताव दर्ता गरेकी थिइन ।
सोही संशोधनमा मधेशी, आदिवासी जनजाति, मुस्लिम लगायतले माग गरेको संविधान संशोधनको विषयलाई पनि समेट्नु पर्ने यादवको माग छ ।
उनले भने, आवश्यकता अनुसार संविधान संशोधन गर्नु ठीक हो तर पटक पटक संशोधन गर्नुभन्दा एकैपटक प्याकेजमै संशोधन गर्दा राम्रो हुन्छ ।’ संविधान संशोधनका लागि दुई तिहाई बहुमत चाहिन्छ ।
संविधान संशोधनको माग गर्दै मधेशी दलले पटक पटक आन्दोलन गर्दै आएको छ ।