ई–सेवाबाट डरलाग्दो ठगी धन्दा, प्रहरीले थाल्यो अनुसन्धान

शुक्रबार, ९ जेष्ठ २०७७

काठमाडौं – ई–सेवाबाट अवैध रुपमा ठगी हुने गरेको तथ्य फेला परेको छ । ई–सेवाका ग्राहकले आफूहरु ठगीएको भन्दै प्रहरीमा उजुरी दिएपछि यस्तो तथ्य बाहिर आएको हो ।

ई–सेवाका सहायक निर्देशक शिशिर पौडेलले आफ्ना ग्राहकहरु ठगिएको पुष्टि गरेका छन । ई–सेवाका ग्राहकलाई भिडियो गेम पप्जी खेल्नेहरूले विभिन्न प्रलोभनमा पारेर रकम पठाउन लगाउने र रकम पाएपछि सम्पर्कमा नआउने गरेको पौडेलले बताए । उनले ग्राहकहरूले नै यसबारेमा कम्पनी र प्रहरीलाई उजुरी दिएको समेत स्वीकारेका छन ।

उनले यस विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्दै भने, ‘हाम्रा ग्राहक विभिन्न प्रलोभनमा परेर ठगिएका रहेछन् । उनीहरूले नै हामीलाई र प्रहरीमा उजुरी गरेका हुन्’, पौडेलले भने ‘अनुसन्धान हुँदै छ ।’

अनलाइन किनमेल र कारोबार गर्ने उद्देश्यले २६ जनवरी २००९ देखि सञ्चालनमा आएको ई–सेवाको कारोबार क्षेत्र नेपाल मात्र हो । तर, ई–सेवाका ग्राहकले अवैध रकम एक व्यक्तिको खाता हुँदै विभिन्न व्यत्तिलाई ट्रान्सफर गर्दै बाहिरी मुलुकमा समेत पठाउने गरिएको छ ।

हाल देशभरका अधिकांश बैंकले ई–सेवामार्फत पनि कारोबार गर्ने गरेका छन् । जुन उच्च जोखिममा रहेको कतिपय बैंकरहरू नै बताउँछन् ।

यसरी आफ्नो ई–सेवा खाता प्रयोग गरेर एक व्यत्ति हुँदै अर्को व्यत्तिलाई रकम पठाउँदा उनीहरूले १० देखि १३ प्रतिशतसम्म कमिसन लिएर काम गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

ई–सेवामार्फत अवैध रूपमा रकम ट्रान्सफर हुने गरेको सूचना प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पुगेपछि ई–सेवामार्फत नेपालबाट अवैध रूपमा रकम बाहिरिने गरेको तथ्य समेत खुलासा भएको छ । सीआईबी स्रोतका अनुसार ई–सेवामार्फत ठूलो रकम ट्रान्सफर भएकाको खाता नम्बरबारे भने प्रहरीले गोप्य नै राखेर अनुसन्धान अघि बढाएको छ ।

यसरी ई–सेवालाई प्रयोग गरेर अवैध रूपमा ठूलो रकम आदान–प्रदान हुने सूचना ई–सेवा कम्पनीलाई थाहा हुँदाहुँदै पनि भित्री रूपमा मिलाउन खोजेको आरोप प्रहरीको छ । प्रधानमन्त्रीका आइटी सल्लाहकार अस्गर अलिको उक्त कम्पनीले शक्तिको आडमा यस्तो कुराहरु लुकाएको हुनसक्ने प्रहरी अधिकृतको भनाई छ । केहिलाई प्रलोभनमा पारेर र केहिलाई धम्की समेट दिएर सूचनाहरु लुकाएको प्रहरी श्रोतको भनाई छ ।

फुटबल, किक्रेटजस्ता ठूला अन्तर्राष्ट्रिय खेलमा हुने सट्टेबाजी (बेटिङ) को रकम, आतंकवादी गतिविधिमा प्रयोग हुने ठूलो रकम ई–सेवामार्फत १ व्यक्तिबाट अर्को व्यक्तिको खातामा ट्रान्सफर हुँदा अन्त्यतः ठूलो रकम देशबाट बाहिरिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।