जब घरमाथि यात्रुवाहक विमान खस्यो, तब देखियो यस्तो दृश्य (फोटो फिचर)

शनिबार, १० जेष्ठ २०७७

काठमाडौं – पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को एयर बस ए ३२० विमान शुक्रबार कराँचीको मोडल कोलनी आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त बनेको छ । लाहोरबाट उडान भरेको विमान जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त बनेको हो ।

कल साइन पीके८३०३ भएको विमानमा ९१ जना यात्रु र ८ जना चालक दलका सदस्य रहेको बीबीसीले जनाएको छ ।

डन डटकमले सिन्ध स्वास्थ्य विभागलाई उद्धृत गर्दै हालसम्म ३७ जनाको मृत्यु भएको पुष्टि भएको छ । यद्यपि, मृतक सबै विमानमा सवार थिए वा आवासीय क्षेत्रका थिए भन्ने खुल्न सकेको छैन । दुर्घटनामा तीन जना सकुशल रहेको अधिकारीहरुले जानकारी दिएका छन् । सिन्धका स्वास्थ्यमन्त्रीका मिडिया कोओर्डिनेटरका अनुसार सकुशल रहेकामा जुबेर, ताहिरा र जाफर मसुद रहेका छन् । जाफर बैंक अफ पन्जाबका अध्यक्ष पनि हुन् ।

प्रत्यक्षदर्शीका अनुसार विमान दुई या तीन पटक अवतरणको असफल प्रयास गरेपछि दुर्घटनाग्रस्त बनेको थियो । ‘विमान पहिले मोबाइल टावरमा ठोकियो र त्यसपछि घरहरूमाथि खस्यो,’ प्रत्यक्षदर्शी शकिल अहमदले भने ।

विमान अवतरण गर्नुभन्दा केही अघि मात्र दुर्घटनाग्रस्त बनेको थियो । लाइभएटीसी डट नेटमा उपलब्ध विमान चालक र एयर ट्राफिक कन्ट्रोलरबीच भएको अन्तिम संवादमा पाइलटले आफू ल्याण्ड गर्न असफल भएको र दोस्रो प्रयास गर्न गइरहेको बताएको सुन्न सकिन्छ । उनले विमानको इन्जिनमा समस्या रहेको पनि जानकारी गराएको सुन्न सकिने एपीले जनाएको छ । अन्त्यमा ‘मेडे मेडे मेडे’ भन्दै ट्रान्समिसन अन्त्य हुन्छ ।