एम्बुलेन्स जान नमानेपछि आफै बाइक चलाएर काठमाडौं आए कोरोना संक्रमित

आइतबार, ११ जेष्ठ २०७७

काठमाडौं – एम्बुन्लेन्सले ककनीका कोरोना संक्रमित युवालाई लिन नगएपछि आफै बाइक चलाएर काठमाडौं आएका छन । आइतबार संक्रमण पुष्टि भएका नुवाकोट ककनी गाउँपालिकाका कोरोना संक्रमित आफैँ मोटरसाइकल चलाएर काठमाडौंको टेकु अस्पताल आएका हुन ।

उनी ककनी वडा नम्बर ३ का बासिन्दा हुन् । उनलाई आइतबार बिहान ११ बजे कोरोना संक्रमण पुष्टि भएको खबर आएको थियो । अस्पताल जान तयार भएर बसे पनि एम्बुलेन्स नआएपछि आइतबार साँझ उनी आफैँ मोटरसाइकल चलाएर टेकु अस्पतालतर्फ गएका गाउँपालिका अध्यक्ष मानबहादुर लामाले बताए ।

दिनभर एम्बुलेन्स खोज्ने प्रयास असफल भएपछि उनी आफैँ मोटरसाइकल चलाएर आएका हुन् । नुवाकोट जिल्ला अस्पताल, काठमाडौं महानगरपालिकालगायतका ठाउँमा एम्बुलेन्सका लागि टेलिफोन गरे पनि उपलब्ध नभएको ककनी गाउँपालिका– ३ का वडाध्यक्ष घननाथ बजगाईंले बताए।

‘एम्बुलेन्सका लागि उहाँले धेरै प्रयास गर्नुभयो, मैले पनि काठमाडौं महानगरपालिका, नुवाकोट जिल्ला अस्पताललगायतका ठाउँमा टेलिफोन गरेँ, तर उपलब्ध भएन । साँझ परिसकेको थियो, ढिला हुन्छ भनेर मोटरसाइकलमै जानुभयो’ उनले भने ।

उनी ६ बजेतिर काठमाडौं आएका हुन्। उनलाई कहाँबाट कोरोना संक्रमण भयो भन्ने खुलेको छैन । उनी काठमाडौं आउजाउ गरिरहन्थे। उनी मोटरसाइकलमा काठमाडौं आइसकेपछि प्रहरी खोज्दै घर आएको स्थानीय आशिष ढुंगानाले जानकारी दिए।