नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुग्यो

सोमबार, १२ जेष्ठ २०७७

काठमाडौं – नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेजमा मृत्यु भई अन्त्येष्टि गरिसकेका एक व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको हो ।

उपचारको क्रममा जेठ ४ गते राति मृत्यु भएका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले बताए ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । तर, कोरोना परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।

अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेका छन् । वृद्धको मृत्युबारे स्वास्थ्य मन्त्रालयले भने केही जानकारी दिएको छैन ।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले पनि मृतक वृद्धको पीसीआर विधिबाट परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

कोरोना पोजेटिभ देखिएसँगै नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको छ । यसअघि सिन्धपाल्चोक, बाँके र गुल्मीका एक एक जनाको मृत्यु भइसकेको छ ।