रुकुम हत्याकाण्ड : खुल्यो घटनाको बास्तविकता
चौरजाहारी – जाजरकोटको भेरी नगरपालिका– ४, रानागाउँनिवासी २१ वर्षीय नवराज विक प्रेमिकासँग बिहे गर्न १९ जना साथीसहित शनिबार अपराह्न करिब ५ बजे रुकुमको चौरजहारी पुगेका थिए । तर, स्थानीयले संगठित आक्रमण गरेपछि भाग्दाभाग्दै उनीहरू नदीमा हामफालेका ६ जना बेपत्ता भएका थिए ।
सोमबार साँझसम्म नवराज तथा उनका साथीहरू गणेश बुढामगर र टीकाराम नेपालीको शव भेटिएको रुकुमका डिएसपी ठगबहादुर केसीले जानकारी दिएका छन् । नवराजका साथीहरूमध्ये गणेश जाजरकोटका हुन् भने टीकाराम रुकुम चौरजहारीकै हुन् ।
त्यस्तै, भेरी नगरपालिकाका–४ का १८ वर्षे सञ्जु विक, १७ वर्षे गोविन्द शाही र १८ वर्षे लोकेन्द्र सुनार अझै बेपत्ता छन् । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल जाजरकोट पुर्याइएको र बेपत्ताको खोजीकार्य भइरहेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।
के हो घटना ?
जाजरकोटको भेरी नगरपालिका– ४ रानागाउँनिवासी नवराज विक एथलेटिक्सका प्रतिभावान् खेलाडी थिए । कक्षा १२ उत्तीर्ण गरेका उनी खेल खेल्नकै लागि मेला–महोत्सवमा वारि–पारि कुदिरहन्थे । त्यही क्रममा रुकुमको चौरजहारी नगरपालिका– ८, सोतीकी एक युवतीसँग तीन वर्षअघि चिनजान भयो । उनीहरूबीच प्रेम सम्बन्ध सुरु भयो ।
खेलकै क्रममा रुकुम पुग्दा नवराजले लुकिछिपी प्रेमिकालाई पनि भेट्थे । प्रेमिका पनि नवराजको घर आउने गर्थिन् । दलित युवासँग प्रेम सम्बन्ध छुटाउन आफन्तले निकै प्रयास गरे । योबीचमा अभिभावकले छोरीलाई कुटपिट पनि गरेका थिए । तर, उनीहरू एक–अर्कालाई छाड्न तयार भएनन् ।
प्रेमिकालाई लिन केही महिनाअघि पनि नवराज साथीहरू लिएर सोती पुगेका थिए । त्यतिवेला प्रहरीले हस्तक्षेप गरेको थियो । तर, दलितसँग प्रेम गरेको भनेर आफूमाथि परिवारबाटै अवहेलना भएको भन्दै प्रेमिकाले नवराजलाई सन्देश पठाएकी थिइन् । ‘लिन आउनु भनेर प्रेमिकाले सन्देश पठाएकी छिन् भनेपछि हामी नवराजसँग गएका हौँ,’ घटनामा परेका एक युवकले भने ।
१८ जना साथीसहित भेरी तरेर नवराज शनिबार अपराह्न सोती पुगेका थिए । नवराजले छोरी लग्न थालेको थाहा पाएपछि प्रेमिकाकी आमाले गाउँमा हारगुहार गरिन् । प्रेमिकासम्म पुग्न नपाउँदै नवराजको समूह गाउँलेबाट घेरिएको थियो ।
‘हामीलाई देख्नेबित्तिकै आमैले जातिवाचक गाली गर्न थाल्नुभयो, कुटाइ नपुगेर फेरि आएछन् भन्दै मान्छे जम्मा गर्न थाल्नुभयो,’ नवराजका साथी आशिष विकले भने, ‘गाली सुन्न नसकेर हामी अलिक तल बाटोमा झ¥यौँ । एकैछिनमा ढुंगामुढा सुरु भइहाल्यो ।’
हातमा लाठी तथा घरेलु हतियार बोकेका गाउँलेले ढुंगाले हान्न थालेपछि आफूहरू भागेको आशिषले बताए । ‘हामी जति भागे पनि गाउँलेहरू पछिपछि आए, गाउँदेखि चार किलोमिटर बगरैबगर हामी भाग्यौँ,’ उनले भने, ‘यस्तो भवितव्य आइलाग्यो, ज्यान बचाउन कोही कता भागे, कोही कता, साँझको वेला पत्तै भएन, आत्तिएका साथीहरू खोलामा हामफाले ।’
प्रहरीका अनुसार नवराजले १९ जनाको समूह बनाए पनि एकजना बाटोबाट फर्किएका थिए । सोती पुगेका १८ जनामध्ये ११ जना खोलामा हामफालेको इलाका प्रहरी कार्यालय चौरजहारीका प्रहरी निरीक्षक धर्म विष्टले बताए । ‘पाँचजना पारि पुगे, ६ जना खोलामै हराए । हराएकामध्ये तीनजनाको शव भेटिएको छ भने तीनजनाको अवस्था अज्ञात छ । सातजना भने खोलामा नपसी लुकेका थिए,’ विष्टले भने । अरू भागे पनि नवराजलाई गाउँलेले पक्रेर कुटेको उनका साथी आशिषले बताए । ‘नवराजलाई त उनीहरूले कुटे, मारेर भेरीमा फालेका हुन्,’ उनले भने । नवराजको शव शनिबार राति १० बजे भेरी किनारमा भेटिएको थियो ।
घटनास्थल पुगेका सुर्खेतका पत्रकार खगेन्द्र सुनार भन्छन्, ‘नवराजको शरीरभरि हेरिनसक्नु घाउ नै घाउ छ, टाउको र मुखमा ढुंगैढुंगाले हानेर हत्या गरेको देखिन्छ । नदीमा त मारेर फालिएको मात्रै हो, पानी खाएको छैन ।’ बेपत्ता भएका चौरजहारी नगरपालिकाकै टीकाराम नेपालीको शव भने आइतबार अपराह्न घटनास्थलबाट करिब ३० किमि तल भेटिएको प्रहरीले जनाएको छ । त्यस्तै भेरी नगरपालिका–४ का गणेश बुढामगरको शव भने सोमबार दिउँसो ३ बजे मात्रै भेटिएको छ । गाउँलेको कुटाइबाट घाइते भएका सुदीप खड्काको अवस्था उपचारपछि सामान्य छ । उनीहरूमध्ये धेरै जाजरकोटका र केही भने रुकुम, सल्यान र बाँकेका रहेको प्रहरीले जनाएको छ । नयाँ पत्रिकाबाट