प्रधानमन्त्रीको गीत युट्युवमार्फत सार्वजनिक (भिडियो सहित)

बिहिबार, १५ जेष्ठ २०७७

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीद्वारा रचित नयाँ गीत सार्वजनिक भएको छ । ‘बन्छ नमूना नेपाल’ बोलको गीत युट्युवमार्फत सार्वजनिक भएको हो ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य एवम् सङ्गीत विभाग प्रमुख समेत रहेका लोकप्रिय सङ्गीतकार प्राज्ञ अशोक राईले प्रधानमन्त्री ओलीको उक्त गीतमा सङ्गीत गरेका छन् । देशप्रेम, देश विकास र समृद्धिको सपना झल्किने उक्त गीत लोकप्रिय युवा गायक सञ्जय तुम्रोक र गायिकाद्वय दुर्गा परियार र श्रेयसी चेम्जोङको सुमधुर स्वरमा सजिएको छ ।

ओलीले हालै दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराउन त्रिभुवन शिक्षण अस्पतालमा बस्दा लेखेका हुन् । वाङ्मयका विविध विधा साहित्य, कला, संस्कृति, सङ्गीत, इतिहास, दर्शन, सामाजिक शास्त्र लगायतका अनेकौँ विषयमा गहिरो अभिरूचि र ज्ञान राख्ने केपी शर्मा ओली विद्यार्थी जीवनदेखि नै प्रगतिशीलभावका कविता लेख्थे ।

उनका दर्जनौँ कविता तथा गीत प्रकाशित छन् । विदेशिएका जनशक्तिलाई स्वदेशमै फर्काएर यहीँ रोजगारी सृजना गरी देशविकासमा लगाउने भावधाराको यस गीतमा प्रधानमन्त्री ओलीको देश विकास र समृद्धिप्रतिको सुन्दर सपना र सङ्कल्प प्रष्टसँग कुँदिएको छ ।