एमसीसी परियोजना बजेटबाट नहटे बजेट फेल हुन्छ : बरिष्ठ नेता खनाल

शनिबार, १७ जेष्ठ २०७७

काठमाडौं – सत्तारुढ नेकपाका बरिष्ठ नेता झलनाथ खनालले एमसीसीको परियोजना बजेटबाट नहटे आगामी आर्थिक बर्षको बजेट फेल गरिदिने चेतावनी दिएका छन । पार्टी निर्णयविनै परियोजनाअन्तर्गत रकमै तोकेर अनुदान सहायता प्राप्त हुने रकम बजेटमा ल्याइनु गम्भीर आपत्तिजनक विषय भएको भन्दै खनालले बजेट फेल गरिदिने चेतावनी दिएका हुन ।

गत १९ माघमा सम्पन्न केन्द्रीय कमिटीद्वारा गठित एमसीसी अध्ययन कार्यदलका संयोजकसमेत रहेका खनालले पार्टी निर्णयविना नै त्यसरी ल्याइएको विषय नहटाइए बजेट नै फेल हुने चेतावनी दिए ।

उनले भने, ‘एमसिसी परियोजनाअन्तर्गत वैदेशिक अनुदान प्राप्त हुने रकम तोकेरै बजेटमा आउनु गम्भीर आपत्तिजनक छ, त्यसकारण हामीले छलफलका लागि अपर्झट केन्द्रीय सचिवालयको बैठक बोलाउन माग गरेका हौँ । त्यही बैठकमा छलफल गरेर एउटा टुंगोमा पुग्छौँ, ।’

खनालले अगाडी भने, ‘एमसीसी यथास्थितिमै मान्ने, पालन गर्ने वा अनुमोदन गर्ने भन्ने प्रश्नै छैन । नीति तथा कार्यक्रममा भएको पनि प्रधानमन्त्रीले लागू हुँदैन भनेपछि मात्र हामीले मानेका थियौँ, त्यसकारण अब हटाउनुको विकल्प छैन, हटाइएन भने बजेट फेल हुन्छ ।’