थप १८ जना कोरोना संक्रमितले जिते कोरोना

मंगलबार, २० जेष्ठ २०७७

विराटनगर – प्रदेश १ बाट थप १८ जना कोरोना संक्रमितले कोरोना जितेका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराएका झापाका १७ जना पुरुष र सुनसरीकी एक महिलाले कोरोना जितेका हुन् ।

उनीहरुलाई सोमबार राति डिस्चार्ज गरिएको छ । दुई पटक गरिएको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएपछि १८ जनालाई सोमबार राति डिस्चार्ज गरिएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । डा. सापकोटाका अनुसार डिस्चार्ज हुनेहरु १७ देखि ५२ वर्ष उमेर समूहका छन् ।

कोरोना जितेर डिस्चार्ज हुनेहरुलाई धरान उपमहानगरपालिकाका मेयर तिलक राई, प्रतिष्ठानका निर्देशक गौरीशंकर साह, सहायक निर्देशक डा. विकास साहलगायतले पुष्पगुच्छा दिएर बिदाई गरेका थिए ।