भीआइपी जुवाडेको हिरासत : ‘रातभर स्वास्नीसँग, दिनमा प्रहरी चौकीमा हाजिर’

बुधबार, २१ जेष्ठ २०७७

काठमाडौं – जुवाको खालबाट रङ्गेहात पक्राउ गरेका ९ जना ठूला व्यापारी हाजिरी जमानतमा छुटेका छन । सोमबार राति कमलादीस्थित गगौंर बुटिक होटलमा जुवा खेलाइरहेको सूचनाका आधारमा प्रहरीले छापा मारी ९ व्यवसायीलाई पक्राउ गरेको थियो ।

मंगलबार दिभर महानगरीय प्रहरी वृत्त दरबारमार्गको हिरासतमा बसेको जुवाडेहरुलाई जिल्ला प्रशासन कार्यलय काठमाडौं ५ दिन हिरासतमा राख्न अनुमति दिएका थियो । तर प्रहरीले उनीहरुलाई हरेक दिन हाजिर हुन आउने गरि छोडिदिएको छ ।

जुवाको खालबाट व्यापारीहरू रामचन्द्र संघाई, सुरेशकुमार अग्रवाल, बिमल खेतान, विमल आहुजा, पुरुषोत्तम अग्रवाल, गोविन्द अग्रवाल, अशोककुमार अग्रवाल, नन्दकिशोर शर्मा तथा होटल सञ्चालक भारतीय नागरिक निक्की जोगाईलाई पक्राउ गरेका छ ।

पक्राउ परेका सबै जनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले मुलुकी अपराधसंहिताको जुवासम्बन्धी कसूरमा अनुसन्धानका लागि पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

कोरोनाको संक्रमण हुन सक्ने कारण देखाएर उनीहरुलाई राति आफ्नो घरमा सुत्न पठाउने र दिउँसो प्रहरी कार्यालयमा हाजिर हुन आउने भनिए पनि राजनीतिक तहबाट चर्को दबाबका कारण थुनामा नराखिएको स्रोत जनायो । पक्राउ परेका व्यापारीहरू विभिन्न बैंक, बीमा कम्पनीलगायत उद्योग व्यवसायमा संलग्न रहेको हुँदा उनीहरुको राजनीतिक पहुँच मन्त्री, प्रधानमन्त्रीसम्म रहेकाले राजनीतिक दबाबका आधारमा प्रहरीले थुनामा राख्न नसकेको स्रोतको दाबी छ ।

जुवाको खाल चलेको सूचनाका आधारमा प्रहरी छापा मारेपछि उच्च घरानियाँ व्यापारी रहेको रहस्य खुलेपछि प्रहरीलाई घटनालाई सामान्यकरण गर्न गाह्रो परेको छ । उनीहरुलाई अहिले राति आफ्नै घरमा गएर बस्न र विहान महानगरिय प्रहरी बृत दरवारमार्गमा हाजिर हुने गरि छोडिएको छ ।