नेपालमा कोरोना विरुद्धका ९ ओटा औषधि तयार, विरामीमा परिक्षण सुरु

शनिबार, २४ जेष्ठ २०७७

काठमाडौं – नेपालमा कोरोना भाइरसविरुद्धका ९ ओटा औषधि तयार भएका छन । रोगको निदान गर्ने समूह र सङ्क्रमण हुन नदिने समूह गरी दुई भागमा ९ प्रकारका औषधि तयार भएको हो ।

त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थानका प्राध्यापक डाक्टर दिलीपकुमार दासले तयार पारेको औषधिहरुको परिक्षण सुरु भएको छ ।

बाग्मती प्रदेशको सामाजिक विकास मन्त्रलयमार्फत डा. दासले तयार पारेको औषधिको परीक्षण प्रक्रिया सुरु भएको हो । दासले आफूले तयार पारेको औषधिले कोरोना भाइरसविरुद्ध पूर्णरुपमा काम गर्ने जिकिर गरेका छन । उनले ९ मध्य छ प्रकारका औषधिलाई सङ्क्रमण लाग्न नदिन सुईका रुपमा प्रयोग गर्न सकिने तथा तीन प्रकारका औषधिलाई सङ्क्रमण पछि उपचारका लागि र रोगको निदानका लागि प्रयोग गर्न सकिने बताए ।

उनले वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रीको संयोजनमा आजबाट औषधिको औपचारिक तथा कानूनी परीक्षणको प्रक्रिया प्रारम्भ गर्नुभएको हो । औषधिका सम्बन्धमा मन्त्री युवराज दुलालले शुक्रबार प्रदेशका विज्ञ तथा देशका प्रतिष्ठित वैज्ञानिकसँग समेत छलफल गरेर औषधिको औपचारिक परीक्षण प्रारम्भ गर्ने निर्णय गरेका छन ।

‘अब नेपाल स्वास्थ्य अनुसन्धान परिषद्मार्फत औषधिको परीक्षणलगायतको काम हुन्छ’ मन्त्री दुलालले भने । डाक्टर दासलाई प्रदेश सरकारको साथ रहने तथा सरकारका तर्फबाट सबै प्रकारको सहयोग रहने उनको भनाई छ ।

आफूले कोरोना भाइरसको बनावट त्यसका रसायनिक तथा अन्य गुणको अध्ययन गरेको र विभिन्न १५ प्रकारका वनस्पतिमार्फत त्यसलाई नष्ट गर्ने औषधि तयार पारेको दासको भनाइ छ । डाक्टर दासले उक्त औषधिले कोरोना भाइरसको पहिलो पत्रमा हुने बोसो तथा प्रोटिनलाई समेत टुक्र्याउने र भाइरसलाई निष्क्रिय बनाउने बताए ।

द्रुत सङ्क्रमक भाइरस भएकाले भाइरसलाई ल्याबमा ल्याएर परीक्षण नगरेको तर अन्य वैज्ञानिक परीक्षण गरेको उनको भनाइ छ । वर्षौंदेखि मानव जातिले विभिन्न तरिकामा प्रयोग गर्दै आएका वनस्पतिको प्रयोगबाट औषधि तयार भएकाले यसको प्रयोगबाट कुनै पनि प्रकारको ‘रियाक्सन’ नहुने तर कसैकसैमा सामान्य खालको एलर्जीसम्म हुनसक्ने डाक्टर दासको भनाइ छ ।

डाक्टर दासको अनुसन्धान सम्बन्धि समाचार सार्वजनिक भएपछि नेपालमै कोरोनाविरुद्ध औषधि पत्ता लागेको भन्दै देश विदेशमा चर्चा चलेको थियो । वनारस विश्वविद्यालयबाट रसायन शास्त्रमा विद्यावारिधि गरेका डाक्टर दास त्रिभुवन विश्वविद्यालय, वन विज्ञान अध्ययन संस्थान, हेटौँडा क्याम्पसमा प्राध्यापन गराइरहेका छन ।

बाराको कलैयाका स्थायी बासिन्दा डाक्टर दासले हेटौँडाकै मकवानपुर बहुमुखी क्याम्पसलगायतका शैक्षिक संस्थामासमेत अध्यापन गराउँछन ।

यसैबीच, डाक्टर दासलाई विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोनाविरुद्ध तयार पारेको औषधिलाई सुईमार्फत दिइने सुईका रुपमा मात्र नबनाएर खाने झोल सिरपका रुपमा समेत उत्पादन गर्न सुझाव दिएको छ । भिडियो कन्फेरेन्समार्फत कुराकानी गरेपछि स्वास्थ्य सङ्गठनले इमेलमार्फत उक्त सुझाव दिएको डाक्टर दासले जानकारी दिए । उनका अनुसार डब्लुएचओले १६ पृष्ठ लामो सुझाव तथा जिज्ञासा पठाएको छ ।

डाक्टर दासका सहयोगी अनुसान्धानकर्ता तथा संस्थानका प्राध्यापक वनस्पति शास्त्री दामोदर गैरेका अनुसार डब्लुएचओले सुईमार्फत औषधि दिँदा कतिपयलाई एलर्जी हुनसक्ने भएकाले खाने झोलका रुपमा तयार पार्न अनुरोध गरेको जानकारी दिए । गैरेका अनुसार डब्लुएचओले औषधिको कम्पोजिसनका बारेमा थाहा पाएपछि सकारात्मक प्रतिक्रिया दिएको छ । “डब्लुएचओले हामीलाई आवश्यक परे कति परिमाणमा औषधि तयार पार्न सक्छौँ भनेरसमेत सोधेको छ”, उनले भने ।