कोरोनाको आशंका गरिएका २ जनाको मृत्यु
काठमाडौं – कोरोना आशंका गरिएका २ जनाको मृत्यु भएको छ । भारतबाट आएका एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने क्वारेन्टाइनमा बसेका अर्का एक बृृद्धको मृत्यु भएको छ ।
चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा उपचारत माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो ।
उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर जाँच गर्न स्वाब संकलन गरेर ल्याबमा पठाइएको छ ।
त्यस्तै, बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।
१५ जेठमा भारतबाट आएका उनको शनिबार बिहान मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिए । ‘उहाँ दमको बिरामी रहेको बुझिएको छ । हिँजो साँझ दम बढेको बताएपछि औषधिसमेत खुवाएका थियौँ,’ वडाध्यक्ष रावतले भने, ‘उहाँलाई अरु केही समस्या थिएन ।’
उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।