भारतबाट आएर क्वारेन्टिनमा बसेका थप २ जनाको मृत्यु

आइतबार, २५ जेष्ठ २०७७

डोटी – भारतबाट फर्किएर क्वारेन्टिमा बसेका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेका बैतडीका ३१ बर्षिय पुरुष र डोटीका १९ बर्षिय पुरुष रहेका छन ।

बैतडीको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालयको क्वारेन्टिनमा बसेका पाटन नगरपालिका–६का ३१ वर्षीय पुरुषको शनिबार राति करिब साढे ८ बजे मृत्यु भएको हो । उनी शनिबार बिहान मात्रै भारतको बेंगलोरबाट पाटन आइपुगेका थिए ।

साँझ एकाएक बेहोस भएका उनलाई उपचारका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्य सहायक प्रेमसागर भट्टले जानकारी दिए ।

मृतकको स्वाब संकलन गरी परीक्षणका लागि धनगढी पठाइएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिए । मृतकको दाहसंस्कार गर्ने विषयमा छलफल पनि भइरहेको स्वास्थ्य शाखा प्रमुख महराले बताए ।

‘भारतबाट सँगै आएका मृतकका सहोदर भाइले आफूहरु सुरक्षित स्थानबाट सुरक्षित तरिकाले आएकाले कोरोना संक्रमण नभएको दावी गर्दैछन्,’ महराले भने, ‘उनीहरु अब शव सड्न नदिने भन्दै दाहसंस्कार गर्ने जिद्दी गरिरहेका छन् ।’ उनीहरुले हृदयघातका कारण मृत्यु भएको दावी गरिरहेको महरा बताउँछन् ।

मृतकसँगै उनका भाइसहित अन्य १३ जना एउटै गाडीमा आएका थिए । उनीहरुमध्ये पाँच जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट गर्दा नतिजा नेगेटिभ आएको महराले जानकारी दिए । सबैको स्वाव संकलनका लागि जिल्लामा भिटिएम किट नभएकाले मृतकको मात्रै स्वाब पठाइएको उनी बताउँछन् ।

त्यस्तै, डोटीको केआई सिंह गाउँपालिका–३ को सिताराम आधारभूत विद्यालयमा रहेको क्वारेन्टिनमा १९ वर्षीय युवकको मुत्यु भएको छ । भारतको लुधियानाबाट १९ गते डोटी पुगेका उनी २० गतेदेखि गाउँपालिकाले व्यवस्थापन गरेको उक्त क्वारेन्टिनमा बस्दै आएका थिए ।

आइतबार बिहान करिब ३ बजे उनको मृत्यु भएको स्थानीय शेरबहादुर ऐरले जानकारी दिए । उनी मुटुको रोगी भएको बुझिएको छ । उक्त क्वारेन्टिनमा तीन महिलासहित १० जना छन् ।

मृतकको स्वाब संकलनका लागि टोली पठाइसकेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, ‘उक्त क्वारेन्टिनमा रहेका १० जनाकै स्वाब संकलन गरी आजै धनगढी पठाउछौं, साँझसम्म भरसक रिपोर्ट आउँछ ।’ उनले रिपोर्ट नआएसम्म शव नउठाइने जानकारी दिए ।

घटनास्थलमा प्रहरी टोली पुगिसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिए । स्वाबको नतिजा नआएसम्म शव प्रहरीको निगरानीमा रहने समेत उनले बताए ।