स्थानीयद्वारा प्रहरी कार्यालयमाथि आक्रमण, आत्मरक्षाका लागि प्रहरीले गोली चलायो
जनकपुरधाम – प्रहरी कार्यालय सबैलामा सवारी मुद्दामा थुनामा रहेका एक युवकले आत्महत्या गरेपछि तनाव बढेको छ । सबैला १२, वरकुर्वा घर भएका २२ वर्षीय शम्भु सादाले बुधबार बिहान करिब दुई बजे थुनुवा घरभित्रै शौचालयमा आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
घटनापछि स्थानीय वडा अध्यक्ष र अन्य राजनीतिकर्मी समेतको उपस्थितिमा शवको घटनास्थल मुचुल्का उठाएर पोष्टमार्टमका लागि जनकपुर पठाएको प्रहरीले जनाएको छ ।
शम्भुको हत्या भएको भन्दै आक्रोशित स्थानीयले लाठी, भाटासहित प्रहरी कार्यालय घेराउ गरि तोडफोड गरेको छ । आक्रोशित समूहले इलाका प्रहरी कार्यालय सबैला र सोही परिषरमा रहेको इलाका प्रहरी कार्यालय यदुकुहाको प्रहरी भ्यानका साथै भवनको सबै झ्याल ढोका फुटाइदिएको छ ।
प्रदर्शनकारी कार्यालय भवनभित्रै प्रवेश गर्न थालेपछि प्रहरीले अश्रुग्यास र हवाइफायर गरेको थियो । प्रहरीले भीड तितरबितर पार्न हवाइफायर गर्नुपरेको प्रहरी निरिक्षक चन्द्रभुषण यादवले जानकारी दिए । अहिले सबैला प्रहरी कार्यालय क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ ।