सरिता गिरीको अर्को दादागिरी, नयाँ नक्साबाट लिम्पियाधुरा हटाउन छुट्टै संशोधन दर्ता

बुधबार, २८ जेष्ठ २०७७

काठमाडौं – जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले संसदमा भारतको बफादारी देखाउँदै संविधान संशोधन प्रस्ताव दर्ता गरेकी छिन । उनले नेपालको नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयक माथि संशोधन दर्ता गराएकी हुन ।

सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेपालको नयाँ नक्सा अनुसारको निशान छाप बनाउने विधेयक संसदमा दर्ता गराएको छ।उक्त विधेयकमा संशोधन दर्ता गराउँदै उनले स्रोत र प्रमाण नखुलाएकाले हटाउनुपर्ने प्रस्ताव गरेकी छिन्।

सरकारले नेपालको संविधानको संविधानको धारा ९ को उपधारा २ बमोजिम अनुसूची ३ मा राखिएको निशान छाप परिवर्तन गर्ने प्रस्ताव सहितको संशोधन संसदमा दर्ता गराएको हो।

उक्त संशोधनमाथि गिरीले संशोधन प्रस्ताव गर्दै दफा २ हटाउनुपर्ने प्रस्ताव राखेकी हुन्। गिरीले लिम्पियाधुरा र लिपुलेक लगायतका भूभाग नेपालको भएको भन्ने प्रमाण नभएको बताउँदै आएकी छिन्।

प्रतिनिधि सभा बैठकमा संशोधन विधेयकको सैद्धान्तिक छलफलमा सांसदहरले गिरीको टिप्पणीको विरोध जनाएका थिए।