क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १ असार २०७७

काठमाडौं – दाङमा कोरोनाको रिपार्ट आउन ढिला भएपछि घर पठाएका १७ जनामा कोरोना पुष्टि भएको छ । क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका १३ र आधारभूत विद्यायलय क्वाडीमा बसेका ४ जनामा घर गइसकेपछि संक्रमण पुष्टि भएको हो । उनीहरु सबै जेठ पहिलो साता भारतबाट आएका थिए ।

नगर प्रमुख नरूलाल चौधरीका अनुसार क्वारेन्टिनमा बसेका उनीहरूको जेठ २१ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट आउन ढिला भएपछि होम क्वारेन्टिनमा सुरक्षित बस्ने गरी जान पाउनुपर्ने माग गरेपछि घर पठाइएको हो । रिपोर्ट पोजेटिभ आएमा सम्पर्कमा आउने र घरबाहिर हिँडड्डुल नगर्ने शर्तमा उनीहलाई जेठ २८ गते घर पठाएको प्रमुख चौधरीले बताए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा आइतबार संक्रमण पुष्टि भएको जानकारी पाए लगत्तै उहाँहरुलाई खोजेर आइसोलेसनमा राख्ने काम भइसकेको उनले बताए ।