शिवम् सिमेन्टले घर बनाउँदै हुनुहुन्छ ? पख्नुहोस् बनाउँदा बनाउँदै भत्किन सक्छ तपाईको घर

मंगलबार, २ असार २०७७

काठमाडौं – करिब एक महिना अघि काठमाडौंका एक व्यक्तिले घरको ढलान गर्ने तयारी गरे । बढि नै विज्ञापन गरेको देखेपछि उनले सिवम् सिमेन्टले ढलान गर्ने सोच बनाए । त्यही अनुसार पसलमा गएर सिवम् सिमेन्ट अडर गरे ।

ढलानकै अघिल्लो दिन राती डिलरले सिवम् सिमेन्ट झारिदियो । भोलीपल्ट ढलानको काम सुरु भयो । तर जब ढलान गरियो, त्यसको २४ घण्टामा नै सिमेन्टले आफ्नो औकाद देखायो । ढलान गरेको स्थानमा चिरा चिरा पर्न थाल्यो, ढलानको छेउछेउमा पानी भर्नका लागि बनाइएको घेरा पनि आफै खस्न थाल्यो । ढलान भएको स्थान करिब ४ घण्टामै बस्ने भएपनि ढलान सकिएको १८ घण्टामा पनि उनको ढलान बसेन ।

घरधनीले ढलान गरेर बाँकी रहेको सिमेन्टको बोरा हेरे । उनीसँग बाँकी रहेको एक बोरा सिमेन्ट आँफैले खोले । सिमेन्ट त खरानीजस्तो फुङ्ग उडेको र सिमेन्टको जस्तो रङ पनि नभएको देखियो । त्यतिमात्रै होइन सिमेन्ट त डल्लो पर्न थालिसकेको रहेछ ।

त्यसपछि सिमेन्टको डिलरकहाँ पुगे उनी । सिमेन्टको गुणस्तर के हो ? के भएको हो भनेर सोध्दा उनले गुणस्तर ठीक नै भएको तर मात्रा नमिलेको हुन सक्छ भन्दै सिमेन्टकै घोल बनाएर छत भर्न भने । घरधनीले ठेकेदारसँग मिलेर सिमेन्टकै घोल बनाए र चर्केको ठाउँमा भरे । तर पनि चर्केको भाग राम्रोसँग बसेन । बरु छतमा पानी हाल्दा पानीसमेत चुहिन थाल्यो ।

त्यसपछि उनी कानुनी उपचार खोज्ने भन्दै खोजबिन गर्न थाल्दा थाहा भयो, उक्त सिमेन्टमा एमजओको मात्रा धेरै रहेछ । त्यतिमात्र होइन, म्याद पनि गुज्रिसकेको रहेछ ।

यो त प्रतिनिधि घटना मात्र हो । सिवम् सिमेन्टले बनेका अधिकाँस संरचनाहरु निर्माण भएपछि पनि लामो समय टिक्दैनन् । उक्त सिमेन्टले बनेका संरचना भुकम्प प्रतिरोधी नहुने र छिटै भत्किने विज्ञहरुको भनाई छ ।

नेपाल गुणस्तर तथा नापतौल विभागले दिएको जानकारी अनुसार सिमेन्टमा म्याग्नेसियम अक्साइड (एमजिओ)को मात्र नेपालको मापदण्ड भन्दा बढि प्रयोग भइरहेको छ । शिवम् सिमेन्टमा म्याग्नेसियम अक्साइडको मात्रा ५ दशमलव ८ प्रतिशत भन्दा बढि भएको पाइएको विभागले जनाएको छ ।

सिमेन्टले म्याग्नेसियम अक्साइडको मात्र बढि हालेर उत्पादन गरिरहेको भन्दै विभागले कारवाहीका लागि यस अघिनै सिफारिस गरिसकेको छ । नेपालको मापदण्ड अनुसार म्याग्नेसियम अक्साइडको मात्रा ५ प्रतिशत भन्दा तल हुनुपर्छ अर्थात ३ देखि ५ प्रतिशतसम्मको म्याग्नेसियम अक्साइडको प्रयोग भएको सिमेन्टलाई राम्रो मान्ने गरिन्छ ।

गुणस्तर तथा नापतौल विभागले गरेको ल्याब टेष्टमा शिवम् सिमेन्टमा म्याग्नेसियम अक्साइडको मात्रा मापदण्डभन्दा बढी पाइएको थियो । विभागले गरेको नमुना संकलन र परीक्षणका क्रममा सिमेन्टमा एमजिओको मात्रा ५ दशमलब ८ प्रतिशतसम्म भेटिएको थियो ।

के हो एमजिओ अर्थात् म्याग्नेसियम अक्साइड ?

म्याग्नेसियम र चुनढुङ्गा मिलाएर बनाएको पदार्थ हो म्याग्नेसियम अक्साइड । ओपिसी र पिपिसी सिमेन्टमा पाइने तत्त्वहरुमा म्याग्नेसियम अक्साइड अर्थात् एमजिओ अनिवार्य छ । सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई राम्रो मानिन्छ ।

म्याग्नेसियम अक्साइड प्रकृतिमै हुने भएकाले सिमेन्ट उत्पादन गर्दा यसलाई नियन्त्रण गर्नुपर्ने हुन्छ । नेपाल सरकारले सिमेन्टमा एमजिओको मात्रा ५ प्रतिशतसम्मलाई ठिकै भनेको छ । यद्यपि सिमेन्टमा यसको मात्रा जति कम भयो, त्यसलाई राम्रो मानिन्छ । अधिकांश विकासशील र विकसित देशहरुमा भने एमजिओको मात्रा ४ प्रतिशत मात्रै राखिएको हुन्छ ।

सिमेन्टमा हुने म्याग्नेसियम अक्साइडले सिमेन्टलाई रङ दिने र बालुवा, गिट्टी तथा अन्य वस्तुहरुलाई समात्ने काम गर्छ । तर यदि सिमेन्टमा एमजिओको मात्रा बढी भएमा यसले गिट्टी, बालुवा तथा इट्टालाई राम्रोसँग नसमात्ने र सुकेलगत्तै फुट्ने वा चर्कने गर्छ ।

शिवम् सिमेन्ट प्रयोग गर्नाले घर चिरा पर्ने, फुट्ने, चर्किने तथा अन्तमा भत्किने सम्भावना बढि हुन्छ । शिवम् सिमेन्टले बनाएको संरचनाहरु ५ देखि १० बर्षमा भत्किने सम्भावना रहेको विज्ञहरुले बताउने गरेका छन् ।उसले गुणस्तरहीन र कमसल सामाग्री प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने भएकाले छिट्टै घर भत्किने सम्भावना रहेको विज्ञहरुको भनाई छ ।

सिवम् सिमेन्टमा एमजीओको मात्र बढि हुँदा पकडशक्तिमा कमी आउँछ, त्यसपछि त्यो सिमेन्टबाट बनेको संरचना नै कमजोर बन्छ । त्यस्तो संरचनाहरु थर्कने तथा सानो भूकम्पले पनि भत्काउन सक्ने जोखिम हुन्छ । कतिपय अवस्थामा फलाम, बालुवा र गिट्टीलाई राम्रोसम्म समात्न नसक्दा संरचना बन्दै गरेको अवस्थामा पनि भत्कनसमेत सक्नेछ । बन्दै गरेको संरचना भत्कनुको मुख्य कारण सिमेन्टको गुणस्तर नहुने नै रहेको विभागको भनाई छ ।