लद्दाख लफडा : तीन जना भारती सेनाको मृत्यु, चीनमा खुशियाली

मंगलबार, २ असार २०७७

काठमाडौं – चीन भारत सिमा लद्दाखमा भएको झडपमा परी ३ जना भारतीय सेनाको मृत्यु भएको छ । भारतीय सैनिकले एक विज्ञप्ति जारी गर्दै लद्दाखको गल्वानमा उपत्यकामा चिनियाँ सैनिकसँगको झडपमा परी एक अधिकृतसहित आफ्ना तीन जना सैनिकको मृत्यु भएको पुष्टि गरेका छन ।

सोमबार रातिको उक्त घटना गल्वानमा पछिल्लो समय देखिएको तनाव मत्थर पार्न दुई देशबीच वार्ता चलिरहेका बेला भएको थियो। पछिल्लो समय गल्वान उपत्यकामा चिनियाँ सैनिकले भारतीय भूमि अतिक्रमण गरेर गस्ती गरिरहेको भारतको दाबी छ।

केहीबेरमै बेइजिङमा चिनियाँ विदेश मन्त्रालयले सोमबारको घटनाको पुष्टि गर्‍यो। सोमबार भारतीय सैनिकले यसअघिको सहमतिविपरीत दुई पटक सीमा पार गरेर आएको र उत्तेजित पार्ने खालको आक्रमण गरेको चीनको भनाइ छ।

‘त्यसपछि भएको झडपमा तीन भारतीय सैनिकको मृत्यु भएको हो,’ चिनियाँ विदेश मन्त्रालयले भनेको छ। झडपका क्रममा चिनियाँ सैनिकतर्फ पनि हताहती भएको भारतको दाबी छ। तर बेइजिङले भने यसबारेमा औपचारिक जानकारी दिएको छैन।

यता भारतीय रक्षामन्त्री राजनाथ सिंहले घटनापछि मंगलबार भारतका तीन वटा सैनिक संगठनका प्रमुखहरूसँग छलफल गरेका छन्। उक्त छलफलमा विदेश मन्त्री एस जयशंकर पनि सहभागी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।