नख्खु जेल ब्रेकको कथा !
काठमाडौं – कुरो २०३३ साल चैत्र १२ गतेको हो । सीपी मैनालीको नेतृत्वमा सुरुङ खनेर झापाली क्रान्तिकारीहरुले नख्खु जेल ब्रेक गरेको दिन । मैनाली सहित नरेश खरेल, धनेन्द्र बस्नेत, धर्म घिमिरे, नारद वाग्ले, भीष्म धिमाल, गोपाल शाक्य, प्रदिप नेपाल, माधव पौडेल, बीरवहादुर लामा, कामेश्वर हलवाई, जीवन मगर, हर्क खड्का, अशोक न्यौपाने, राजन राजबंशीहरु सुरुङ खनेर भाग्न सफल भएका थिए ।
जेल ब्रेक गर्दा मोहन उप्रेती, सूर्य कन्दङ्वा त्यहीभित्र थिए तर उनीहरुको जेलमुक्तिको मिति नजिकै भएकाले ब्रेकमा सहभागी भएनन् । नख्खु जलेबाट उनीहरु भागेपछि गोलघरमा रहेका आरके मैनाली, केपी ओली लगायतलाई फेरी हटकडी लगाइयो । केपी ओली सिकिस्त विरामी थिए । उनलाई हत्कडी र नेल लगाइदिए ।
सीपी मैनाली कसरी भागे भनेर गृहमन्त्रालयले बनाएको आयोगमा उनीहरुलाई लगेर बयान लिए । उनीहरु भागेपछि अलि बढिनै यातना दिन थालेपछि आरके मैनालीले जेलरलाई सोधे, ‘हामीलाई नेल किन लगाइएको हो ? यीनीहरु भाग्न नसक्ने नामर्द हुन भनेर लगाएको हो की पुनः यातना दिएर मार्न खोजको हो ?
नामर्द हुन भनेर नेल लगाउन खोजेको हो भने नामर्दलाई किन नेल हत्कडी लगाउन पर्यो ? मार्ने हो भने छाती थापिदिन तयार छौँ । कतिखेर कहाँ गोली दाग्न मन छ दागे भैहाल्छ । होइन भने यातनामाथि थप यातना किन ?
आरके पड्कीएपछि उत्तर दिन नसकेर जेलर विश्वनाथ कर्माचार्य अलमलमा परे । त्यसको केही दिनपछि उनीहरुको हत्कडी खोलियो । आरके मैनालीको पुस्तक नलेखिएको इतिहासबाट ।