‘श्रम बैंक’ हिट भएपछि थप दुई ओटा ‘बैंक’ खोल्दै रास्कोट नगरपालिका

बिहिबार, ११ असार २०७७

कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिका श्रम बैंक हिट भएपछि हौसिएको छ । नगरपालिकाले अघिल्लो बर्ष सुरु गरेको ‘श्रम बैंक’ले देशभर चर्चा पाएपछि नगरापलिकाले थप दुई ओटा उस्तै प्रकृतिका ‘बैैंकहरु’ स्थापना गर्ने भएको छ ।

नगरपालिकाले श्रम बैैंकसँगै जमिन बाँझो नहोस भन्नका लागि संघिय सरकारको योजना अनुरुप ‘भुमि बैैंक’ र विकास निर्माणलाई व्यवस्थित गर्न ‘योजना बैंक’ को स्थापना गर्ने विषयहरु समेटिएको नगरपालिकाको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ ।

नगरसभाले आगामी आर्थिक बर्षका लागि झण्डै ४९ करोडको बजेट ल्याएको पारित गरेका छ । नगरपालिकाले ४८ करोड ९२ लाख ५४ हजार ५ सय ६० रुपैयाँको बजेट नगरसभाबाट पारित गराएको हो ।

आर्थिक वर्ष २०७७÷०७८ का लागि नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा समावेश भएको श्रम रोजगार बैंकलाई विस्तार गर्दै नगरपालिकाका सबै योजनाहरु बैंक मार्फत संचालन गर्ने निर्णय गरेको छ । ७ सय ४० जना युवालाई श्रम राजगार बैंकमा आबद्ध गराई एक हजार पुर्याउने र उपाभोक्ता समिति विहिन बनाउने निर्णय भएको रास्कोट नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले उत्तरमा दुई किलोमिटर लामो जलशय निर्माण गरी बहुउद्येश्यीय परियोजना संचालन गर्ने योजना ल्याएको छ । यो जलाशयबाट रास्कोटको सम्पूर्ण जमिनमा सिचाई सुविधा पुर्याउने, साना जलविद्युत आयोजना बनाएर विद्युत उत्पादन गर्ने, खानेपानिलाई व्यवस्थित गर्ने योजना ल्याएको नगरपालिकाका एक सदस्यले बताए ।

नगरसभाले नगरवासीको दुर्घटना विमा गर्ने, बाँझो जमिनको उपयोग गर्ने, युवाहरुलाई उद्यमी बनाउन ‘भुमि बैंक’ स्थापना गर्ने, कृषकले उत्पादन गरेको वस्तुको बजारिकरण गर्ने, सितगृह, संकलन केन्द्र र माटो परिक्षण गर्ने योजना सर्वसम्मतले पारित भएको छ ।

यस्तै, नगरपालिकाले हरियालि प्रवद्धन गर्न ‘हरित शहर’ निर्माण, २ हजार घरधुरीमा ‘एक घर एक धारा’ निर्माण गर्ने, १५ सैयाको अस्पताल स्थापना गर्ने, विकास निर्माणलाई एकरुपतामा लैजानका लागि ‘योजना बैंक’ को स्थापना गर्ने, नगरपालिकामा जडिबुटी खेति गर्ने, शैक्षिक क्षेत्रलाई व्यवस्थित गरी निजि शिक्षकलाई विस्थापित गर्ने, सुकसुम्बासी तथा भुमिहिनहरुलार्इ व्यवस्थापन गर्न योजना नगरसभाले पारित गरेको छ ।