प्रेरक प्रसंग : मानिसहरु छल–कपट किन गर्छ ?

सोमबार, ५ साउन २०७७

काठमाडौं – एक जना युवावस्थाको कर्मचारीको बढुवा भयो । तर उसले नयाँ कार्यलय र स्थानमा आफूलाई सहज महसुस गर्न सकिरहेको थिएन । एक दिन ऊ कार्यलयमा बसिरहेको थियो, कसैले ढोका ढक्ढक्यायो । आफूलाई व्यस्त देखाउन उसले हत्तपत्त फोन उठाएर रिसिभर कानतिर लग्यो अनि बाहिर आएको आगन्तुकलाई भित्र बोलायो ।

आगन्तुकले ऊ सँग कुरा गर्न प्रतिक्षा गरिरहे । उ भने फोनमा, ‘ठिक छ, ठिक छ, म मिलाई हाल्छु नीु भनिरहेको थियो । केही समयपछि उसले फोनलाई अठ्याउँदै आगन्तुकलाई ‘म यहाँका लागि के सेवा गर्नसक्छु ?’ भनेर सोध्यो । आगन्तुकले भन्यो, ‘सर तपाईँको टेलिफोन विग्रेको रिपार्ट आएको थियो । त्यसैको मर्मतका लागि यहाँ आएको हुँ ।’

किन छल–कपट गर्नु ? हामी किन आफ्नो क्षमताको प्रमाण दिन खोक्छौं ? हामी किन झुटो बोल्छौं ? यस्ता सबै व्यवहारहरु असुरक्षा, न्यून स्वाभिमानले गर्दा आउने गर्दछन् ।

हामीले गर्ने कामबाट हाम्रो चरित्रको बारेमा निर्णय गर्न सकिन्छ । साथै, हामीले मन पराउने वा मन नपराउने कुराहरुका आधारमा पनि हाम्रो चरित्र देखिन्छ । निम्न कुराहरुको आधारमा हाम्रो चरित्र देखिन्छ ।

१) कस्ता व्यक्तिहरुसँग हाम्रो उठबस हुन्छ, कस्तासँग हामी टाढा रहन्छौं ।
२) हामी अरुलाई कस्तो व्यबहार गछौं, विशेषगरी हामी भन्दा मुनिका, बृद्धबृद्धा र असहायहरुलाई
३) हाम्रो रुचिको सिनेमा, संगित र पुस्तक ।
४) हामीले भन्ने ठट्यौलीहरु ।

हामीले गर्ने व्यवहारले हाम्रो चरित्र देखिन्छ भने छलकपट किन गर्ने ? मानिसहरुमा दह्रो अठोट, संवेदना र सहयोगी भावना छ भने उनीहरुले आफ्नो व्यबहारबाट अरुलाई प्रभावित गर्न सक्छ । यस्ता व्यक्तिहरु सम्मानित र महत्वपूर्ण बन्न पुग्छन् ।