सत्तामोह कै कारण पार्टी प्रवेश
काठमाण्डौं – नेपाली काँग्रेसको आफ्नै इतिहास छ । २००७ साल अर्थात राणाकाल देखी पञ्चायतकाल अर्थात शाहीकालसम्म आइपुग्दा काँग्रेसले आफ्नो परिचय प्रजातन्त्र र मानव अधिकार पक्षधर भएका राष्ट्रहरुसम्म नेपालमा एउटा प्रजातान्त्रिक पार्टीको रुपमा परिचित गराइसकेको थियो । र यसरी एउटा इतिहास बनाएको छ ।
त्यस्तै नेकपा एमाले र माओवादीको एकिकरण पछि विश्वराजनीतिमा कम्युनिस्ट सिद्धिदै गएको वर्तमान अवस्थामा नेपालमा नेकपाले बहुमतको सरकार स्थापित गरेर इतिहास बनाउन सफल भयो ।
यसरी बनाएको इतिहास र परिचय यी पार्टीहरुलार्इ बचाउन गणतन्त्र स्थापना पछि निक्कै मेहनत गर्नु परेको देखिन्छ । नेपाली काँग्रेस र नेकपाले बनाएको इतिहास यसरी विग्रदै गयो । जस्तोकी गणतन्त्रको स्थापना पछि प्रतिनिधी सभाको निर्वाचनमा अन्य पार्टीहरु अत्यन्तै न्युन रुपमा राष्ट्रिय पार्टीको रुपमा स्थापित भए तर सरकार निर्माणामा केही पार्टीहरुको मात्र प्रमुख भुमिका रहयो र अन्य पार्टीहरु गौण रहे ।
यस्तो परिस्थितिमा सा–साना पार्टीहरु र राष्ट्रिय पार्टीमा हैसियत बनाएका तर सरकारसम्म पुग्न नसकेका पार्टीहरुमा विचलन सुरु भयो र ठूला पार्टीहरु जस्तो नेपाली काँग्रेस नेकपा एमाले जस्ता पार्टीहरुमा सत्तामोह भएकाहरुले प्रवेश गर्ने र ती पार्टीहरुमा आफू र आफ्नो पार्टी बिलय गर्ने कार्य सुरु भयो ।
नेपाली काँग्रेस, नेकपा एमाले जस्ता पार्टीहरुले अन्य राजनीतिक दल र ती दलसँग आबद्ध व्यक्तिहरुलाई पार्टी प्रबेश गराउँदा अपनाइने नीति नियम विधी पद्धती किन सरल ? साथै विलय हुने पार्टी या त्यो पार्र्टीसँग आबद्ध रहदा रहेको पदमा नै समायोजन गर्ने र उनीहरुको माग बमोजिम पद दिने पद्धतीसँग सहमत हुन सच्चा कार्यकर्ता सकिरहेका छैनन् ।
- लखेक : ओम आचार्य
नेकपामा अहिले बढिरहेको मतान्तर, बिरोध र पार्टी फ़ुटको नजिक पुगिसकेको अवस्था नेकपा एमाले भित्र अन्य फरक विचार, फरक सिद्धान्त भएकाहरुको प्रबेशले नै हो । यसले पार्टी भित्र तनाव र बिगठन पैदा गर्छ । यो तनाब एकिकरण पूर्वको पार्टीले नै सबै भन्दा बढि व्यहोर्नु पर्छ । त्यस कारणले हो की नेकपामा फुट भयो भने एकिकरण पूर्वको अवस्थामा पार्टी पुक्छ । यस्तो अवस्थामा बढि तनाब नेकपा एमाले र त्यससँग आबद्ध नेताहरुले नै व्यहोर्नु पर्छ ।
पार्टीहरुको यस्तो वर्तमानमा परिस्थितीले पार्टीले बनाएको छवि र इतिहास धमिलो हुदै जाने देखिएको छ । नेपाली काँग्रेसको इतिहास सुन्नै नचाहने, नेपाली काँग्रेसलार्इ अराष्ट्रिय तत्वसम्म भन्नेहरुलार्इ पनि पार्टीमा सम्मानपूर्वक पार्टी प्रबेश गराउदै राम्रो हैसियतमा राखेर पदाधिकारीसम्म बनाउने गरेको देखिएको छ । यस्तो प्रबेशले नेपाली काँग्रेसको भविस्य नेपाली काँग्रेसको इतिहास सुध्रन्छनी विग्रन्छ ? यो पार्टी नेतृत्व पङ्तीले बुझ्ने कुरा हो ।
अहिले काँग्रेस र नेकपामा जुन द्वन्द छ, जुन तनाव छ, त्यो पार्टी प्रबेश गर्नेहरुको विषयलार्इ लिएर र प्रबेश गरिसकेपछि देखिएको द्वन्द नै हो । पार्टी प्रबेश गराउदा र प्रबेश गरेकाहरुबाट पार्टीमा नै जीवन विताएको पार्टीलार्इ नै जीवन दिएकाहरु अपमानित र हिनताबोध हुनु हुदैन । तत्काल प्रबेश गरेकालार्इ तिनिहरुलार्इ नै नेता मान्नु पर्ने अवस्था अस्मिताले दिदैन र वर्तमानमा समस्या यही हो ।
विदेशी महिलालार्इ बिबाह गरेर ल्याउदा उनीहरुलार्इ दिइने नागरिकतामा त एउटा समयावधि निर्धारण गरेर नागरिकता वितरण गर्ने प्रावधान छ त्यो पनि विवाहिता नारीलार्इ जसको थर गोत्र विवाह गरेकै मितिवाट श्रीमानको हुन्छ । पार्टी प्रबेशमा त त्यस्तो केही हुदैन, प्रबेश गर्ने वित्तिक्कै पद दिनु पर्ने यो अलिक मिलेन की ? त्यसरी पार्टी प्रबेश गर्नेहरुलार्इ निस्चित एउटा समयावधि तोकेर उनीहरुको आचरण पार्टी हित विपरित छ छैन ? त्यो परिक्षण गरेर मात्रै पदको समायोजन गर्नु नेपाली काँग्रेसमा जरुरी छ । किन भने इतिहास बोकेको नेपाली काँग्रेसको, प्रजातन्त्र र मानव अधिकारको लागि आफ्नो परिचय बनाएको नेपाली काँग्रेसको इतिहास पार्टी प्रबेश भएकाहरुबाट न धमिलियोस न विग्रियोस ।
नेपाली काँग्रेसमा प्रबेश गर्नु गौरवको कुरा हो, सम्मानको कुरा हो । यसरी यस्तो पार्टीमा प्रबेश गराउदा एउटा विधी पद्धती र समय निर्धारण पछि मात्रै समायोजन गर्नु पर्छ । किन भने पार्टी प्रबेशको कुराहरु गरिरहदा एक अर्काको अन्तिम हदैसम्म विरोधका श्वरहरु व्यक्तिगत रुपमा र पार्टीगत रुपमा पनि हदैसम्म विरोध गर्ने पनि सत्तामोहका कारण पार्टी प्रबेश र बिलय गर्ने गरेका र पुनः विग्रह पनि सत्तामोह कै कारण हुने गरेको राजनीतिले गणतन्त्रको संस्थागत विकासमा बाधा पुर्याएको र पुर्याउने गरेको छ । अर्को तिर पार्टीको सिद्धान्त विचारमा पनि विचलन ल्याउछ ।
