गुल्मीमा फेरी पहिरो, एकै परिवारका ४ जनाको मृत्यु

शनिबार, १७ साउन २०७७

सांकेतिक तस्वीर

गुल्मी – गुल्मीमा फेरी पहिरो गएको छ । अविरल वर्षासँगै आएको पहिरोबाट खसेको डुङ्गाले घर छोपिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

जिल्लाको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिए ।

घटना शुक्रबार राति करिब साढे सात बजेको हो । उनीहरुको पाँच जनाको परिवार रहेकोमा एक जना भने रोजगारीको सिलसिलामा भारतमा रहेको बताइएको छ ।

घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ । सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियो ।

सोही स्थानमै अन्य केही घर जोखिममा रहेकाले तत्काल सुरक्षित स्थानमा बस्न आग्रह गरिएको वडा अध्यक्ष ज्ञवालीले बताए ।