कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु
विराटनगर – कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । विराटनगरको कोशी अस्पतालमा उपचाररत एक वृद्धको मृत्यु भएको हो ।
ज्वरो र स्वासप्रश्वासको समस्या भएको उनी सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका थिए । विराटनगर महानगरपालिका– ५ का ७७ वर्षका वृद्धको उपचारको क्रममै मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए ।
वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो । उनको सवा ३ बजे मृत्यु भएको थियो भने त्यसको करिब एक घण्टापछि संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।
मधुमेहको समस्यासमेत रहेका वृद्धलाई चार दिनयता ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएको अस्पतालले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।