दुई गाउँलेबीच भीषण झडप : १३ राउण्ड गोली चल्यो, कति भयो क्षति ?
वीरगञ्ज – बारामा दुई गाउँका स्थानियबीच झडप भएको छ । झडपमा परि ४ जना प्रहरीसहित १६ जना घाइते भएको छ ।
सिम्रौनगढ नगरपालिका–११ भवानीपुर र आदर्शकोतवाल गाउँपालिका– ६ पटेर्वाका वासिन्दाबीचको झडप भएको हो । झडपलाई तितर वितर पार्न प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।
स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रको भनाई छ । झडपका क्रममा चार जना प्रहरी र १२ जना सर्वसारधारण घाइते भएका छन् । घाइतेको अवस्था सामान्य छ ।
कुलोमा माछा मारेको र डुबानको विषयमा भएको विवादले उग्र रुप लिँदा झडप भएको डीएसपी मिश्रले बताए । ‘गाउँ गाउँबीच नै आक्रमण र प्रतिकार शुरु भएछ, घरटहरा समेत भत्काउन शुरु गरेपछि जिल्लाबाट थप टोली गयौं । ६ सेल अश्रु ग्यास प्रहार गर्दा पनि झडप रोकिएन, १३ राउण्ड हवाई फायर गरेपछि बल्ल स्थिति नियन्त्रणमा आयो’ उनले भने ।
अहिले स्थिति सामान्य भइसकेको छ ।