बिपी प्रतिष्ठानका उपकुलपतिलाई बर्खास्त गर्न माग गर्दै चिकित्सकहरू आन्दोलनमा

मंगलबार, १३ असोज २०७७

काठमाडौं – बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सिनियर चिकित्सकहरुले प्रतिष्ठानका उपकुलपति डा.ज्ञानेन्द्र गिरीलाई बर्खास्त गर्न माग गरेका छन्।

बिहीबारदेखि आन्दोलनमा उत्रिएका प्रतिष्ठानका शिक्षक चिकित्सकहरुले मंगलबार पनि आन्दोलनलाई निरन्तरता दिएका छ्न्।

उनीहरुले आफ्ना न्युनतम माग समेत पुरा गर्न नसक्ने उपकुलपतिलाई बर्खास्त गर्न माग गरेका हुन्।

फ्याकल्टीहरुको अढाई वर्षदेखि रोकिएको बढुवा प्रक्रिया शुरु गर्नुपर्ने, बृद्धि भएको तलब उपलब्ध गराउनुपर्ने, जोखिम भत्ता पाउनुपर्नेलगायत माग गर्दै आन्दोलनमा उत्रिएको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजका अध्यक्ष बिष्णु पोखरेलले बताए।

अध्यक्ष डा .पोखरेल भन्छन्, ‘फ्याकल्टीका न्युनतम माग समेत पुरा गर्न नसक्ने उपकुलपतिबाट प्रतिष्ठानको हितका अन्य काम हुन सक्दैन भन्ने लागेर बर्खास्तको माग गरेका हौं, अहिले शान्तिपूर्ण धर्नामा छौँ, दिनको आधा घन्टा धर्ना बस्दै आएका छौँ, सुनुवाइ नभएसम्म जारी रहन्छ।’

भदौ १९ गते माग पत्र बुझाएर फ्याकल्टीहरुले गत बिहीबारबाट धर्नासहित शान्तिपूर्ण आन्दोलन गरिरहेका छन्। प्रतिष्ठानका सिनियर चिकित्सकहरुले उपकुलपतिले जथाभावी गरेको नियुक्ति र सरुवा बढुवाको पनि विरोध जनाएका छन्।

उपकुलपति गिरी आइसोलेसनमै बसेका बेला कर्मचारीहरुको जथाभावी सरुवा, नियुक्ति गरेपछि उनी विवादमा परेका छन्।

अझ प्रतिष्ठानकै खरिदमा भ्रष्टाचार मुद्धा खेपिरहेका व्यापारीसँग बिना टेन्डर डेढ करोडको मेडिकल सामग्री खरिद गरेपछि उनी झनै विवादमा तानिएका हुन्।