उद्योगमन्त्री गौरी कुमारीले दिइन् राजीनामा
काठमाडौं – उद्योगमन्त्री गौरी कुमारीले राजीनामा दिएकी छन् । उद्योगीको पाता फर्काउनुपर्ने भन्ने विवादाष्पद अभिव्यक्तिपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले प्रधानमन्त्री बालेन शाह समक्ष राजीनामा बुझाएकी छन्।
ग्यास आपूर्ति सहज बनाउने विषयमा छलफल भइरहेका बेला उद्योगमन्त्री गौरी यादवले व्यवसायीप्रति दिएको अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भइरहेको थियो ।खासगरी, मन्त्रीले उद्योगीहरूलाई ‘पाता कस्ने’ तथा उद्योगको लाइसेन्स खारेज गर्नेसम्मको चेतावनी दिएपछि त्यसको विरोधन जनाउँदै व्यवसायीहरूले आपत्ति जनाएका थिए ।
ग्यास आपूर्तिमा समस्या देखिएपछि नेपाल आयल निगमसँग उद्योगीहरू बजारमा आपूर्ति कसरी नियमित गर्ने भन्ने विषयमा छलफल गरिरहेका थिए ।सोही क्रममा उद्योग समितिको बैठकमा मन्त्री यादवले व्यवसायीप्रति आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् ।
व्यवसायीहरूले आपूर्ति व्यवस्थामा देखिएको समस्या समाधानका लागि सरकार र उद्योगीबीच सहकार्य र समन्वय आवश्यक रहेको अवस्थामा मन्त्रीबाटै धम्कीपूर्ण अभिव्यक्ति आउनु उचित नभएको बताउँदै सो अभिव्यक्तिले व्यवसायीलाई निरुत्साहित बनाएको बताएका थिए ।