सानिमा जनरल इन्स्योरेन्सको आइपिओ खातामा, कति पाउला ओपनिङ्ग रेञ्ज ?

शनिबार, १५ कार्तिक २०७७

काठमाडौं – सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ मेरो सेयरमा देखाउन थालेको छ । कम्पनीको असोज २१ गतेदेखि २५ गतेसम्म निष्कासन गरेको साधारण शेयर (आइपिओ) शेयरधनीहरुको हितग्राही खातामा जम्मा हुन सुरू भएको छ । उक्त आइपिओ हिजो (कार्तिक १४ गते, शुक्रबार) देखि लगानीकर्ताको खातामा आउन थालेको हो ।

हाल कम्पनीको उक्त आइपिओ नेप्सेमा सूचीकरण प्रक्रियामा रहेको छ । नेप्सेमा सुचिकृत भएपछि लगानीकर्ताले उक्त शेयर कारोबार गर्न सक्नेछन् । कम्पनीले एसजीआई सिम्बोल पाएको छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम १०३ रुपैयाँ ७३ पैसादेखि अधिकतम ३११ रुपैयाँ १९ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आर्थिक वर्ष २०७५र७६ को प्रतिशेयर नेटवर्थ १०३ रूपैयाँ ७३ पैसा रहेको छ । सोही नेटवर्थको ३ गुणा ३११ रुपैयाँ १९ पैसा हुन्छ । कम्पनीको आर्थिक वर्ष २०७६÷७७ को अपरिष्कृत वित्तीय विवरण भएको हुनाले आर्थिक वर्ष २०७५÷७६ को नेटवर्थबाट ओपनिङ रेञ्ज तोकिनेछ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता साधारण शेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।