सानिमा बैंकको सेयर मूल्य समायोजन, आज कतिमा होला कारोबार ?
काठमाडौं – सानिमा बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ३२० रुपैयाँ निर्धारण भएको छ । यहि मूल्यलाई आधार मानेर सोमबार बैंकको सेयर कारोबार खुल्नेछ ।
नेप्सेले अघिल्लो कारोबार दिन आइतबारको अन्तिम कारोबार मूल्य ३५२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । बैंकले कात्तिक २८ गते बस्ने साधारण सभाको लागि सोमबार कात्तिक १७ गते बुक क्लोज गरेको छ । जसअनुसार आइतबार कात्तिक १६ गतेसम्म कायम सेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश पाउनेछन् ।
बैंकको १६ औं वार्षिक साधारण सभा आम्रपालि ब्यांकेट, बालुवाटार, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १०% बोनस सेयर र कर सहित ३.६०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पेश हुनेछ । साथै, मर्ज तथा एक्विजिसन सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् । कोभिड १९ महामारीको कारण नेपाल सरकारले तोकेको सीमा भित्र मात्र सेयरधनीहरु सभामा प्रवेश गर्न सक्ने भएकाले भर्चुअल माध्यमको व्यवस्था गरिएको बैंकले जनाएको छ ।