‘रअ’का प्रतिनिधिलाई भेट्न प्रचण्डका दुतहरु नयाँ दिल्लीमा

सोमबार, १७ कार्तिक २०७७

काठमाडौं – भारतीय गुप्तचर संस्था ‘रअ’का प्रतिनिधिलाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ दिल्लीमा दुतहरु पठाएको खुलेको छ । प्रचण्डले दशैंको भोलीपल्ट अर्थात कार्तिक ११ गते छोरीद्वय गंगा दाहाल र रेणु दाहाललाई दिल्ली पठाएका हुन ।

‘रअ’ प्रमुख सामान्त गोयल दिल्ली फर्केलगत्तै पुत्रीद्वय नयाँदिल्ली पुगेका हुन । झापाबाट बागडोरा हुँदै नयाँदिल्ली पुगेका पुत्रीद्वय रेणु दाहाल र गंगा दाहाल नेपाल फर्केपछि मात्रै प्रधानमन्त्री ओलीलाई भेट्न कार्यकारी अध्यक्ष प्रचण्ड बालुवाटार पुगेको रहस्य खुलेको हो।

‘‘बुबाका प्रतिनिधि भएर गएका छोरीहरूले ‘रअ’का केही प्रतिनिधिहरूलाई भेटघाट गरेर फर्केपछि मात्रै प्रचण्ड बालुवाटार पुगेको देखिन्छ,’’ स्रोतले भन्यो, ‘‘छोरीहरू दिल्लीबाट नफर्केसम्म प्रचण्ड एक दिन पनि बालुवाटार आउन मानेनन्, जब छोरीहरू फर्के तबमात्रै उनी बालुवाटार पुगे।’’

दाहाल पुत्रीद्वय दसैंको टीकाको भोलिपल्ट अर्थात् कात्तिक ११ गते झापाबाट भारतको वागडोरा विमानस्थल हुँदै नयाँदिल्ली पुगेका थिए, त्यसको व्यवस्थापन चर्चित व्यापारी दुर्गा प्रशाईले गरेका थिए ।

प्रचण्ड पुत्रीद्वयले नयाँदिल्लीमा ‘रअ’ का प्रतिनिधिलाई भेट गरेर फर्केपछि सो बारेमा बिफ्रिङ लिन प्रचण्ड कान्छी छोरीको निवासमै पुगेको स्रोतको दाबी छ। उक्त बिफ्रिङ सुनेपछि मात्रै प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए।