वीर अस्पतालका डाक्टरले दिए सामूहिक राजीनामा

बुधबार, १९ कार्तिक २०७७

काठमाडौं – वीर अस्पतालको आकस्मिक कक्षका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

कोभिड १९ महामारीको उपचारका क्रममा अस्पताल प्रशासनले आफ्ना माग र सुरक्षामा कुनै ध्यान नदिएको भन्दै १६ जना मेडिकल अधिकृतहरुले सामूहिक राजीनामा दिएका हुन् ।

अस्पतालको निर्देशकलाई बुझाएको राजीनामा पत्रमा लेखिएको छ, ‘माहामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ ।’ धम्कीसहित जवरजस्ती हप्ताको ९६ घण्टासम्म ड्युटी गराएको तर, सेवा सुविधा उपलब्ध नगराएको पनि चिकित्सकहरुले पत्रमा उल्लेख गरेका छन् ।

तर, अहिले वीर अस्पतालको आकास्मिक कक्षको उपचार भने सञ्चालनमै रहेको छ । ‘कि हामीले भनेअनुसार काम गर कि राजीनामा देऊ भनेपछि हामीले राजीनामा दिएका हौँ’, डा. भविन्द्र कार्कीले भने, ‘तर, राजीनामा स्वीकृत नहुँदासम्म हामीले काम गरिरहन्छौँ, चिकित्सकको धर्म छाड्दैनौँ ।’ अहिलेसम्म वीर अस्पतालका आकास्मिक कक्ष मेडिकल अधिकृतहरुले नै धानिरहेका छन् । तर, उक्त कक्षमा सुरुवाती चरणमा कोभिड र नन कोभिड दुवै विरामीलाई राखेर उपचार गरिन्छ ।

दसैँ नजिकिँदै गर्दा वीर अस्पतालका चिकित्सकहरुले गत २ कात्तिकमा आन्दोलन गरेका थिए । उनीहरुले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान९न्याम्स०का पदाधिकारी बसेको कोठामा ताला लगाएका थिए ।