प्रहरी हत्या प्रकरण ः हत्या आरोपमा थप एक व्यापारी पक्राउ
धनगडी – धनगढीमा दुईजना प्रहरीको हत्या घटनासँग जोडिएको तस्करीको मटर ९केराउ० को कारोबारमा संलग्न एकजना व्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका– ५, शिवनगरस्थित आदित्य ट्रेडिङका सञ्चालक ३५ वर्षीय राजीव गुप्ता पक्राउ परेका हुन् ।
प्रहरीको हत्या गरेर भारत तस्करी गरिएको केराउ गुप्ताको भएको खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए । हालसम्मको अनुसन्धानबाट गुप्ताले नै तस्करीका लागि मोटर पठाएको पाइएको प्रहरीले जनाएको छ । मटर कहाँबाट ल्याएको थियो भन्ने विषय अनुसन्धानकै क्रममा रहेको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।
धनगढी–१२, जुगेडास्थित अस्थायी प्रहरी पोस्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको मटर तस्कर समूहले गत १ कात्तिकको राति हत्या गरेको थियो । मटर तस्कर भइरहेका वेला रोक्न खोजेपछि तस्करहरूले दुवैजनाको हत्या गरी सीमा क्षेत्रमा बग्ने मोहना नदीमा फालेका थिए ।
प्रहरीको हत्यापछि सोही राति ५० बोरा मटर मोहना घाट पारि पर्ने भारतको बनकट्टी पुर्याइएको खुलेको घटनाको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।