चुनाव हार्ने निश्चित भएपछि ट्रम्पले लिए एक्सन !

बिहिबार, २० कार्तिक २०७७

काठमाडौं – आगामी कार्यकालका लागि भएको राष्ट्रपतिय चुनावमा धाधली भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अदालती प्रक्रिया सुरु गरेका छन । जर्जिया, पेन्सिल्भेनिया र मिशिगन राज्यमा धाधली भएको भन्दै ट्रम्पले अदालती प्रक्रिया सुरु गरेका हुन ।

उनले तत्काल मतगणना रोकिनुपर्ने माग गर्दै कानुनी प्रक्रिया सुरु गरेका हुन् । उनले यी राज्यको मतदानमा ‘धोकाधडी’ भएको बताएका छन् । यद्यपि उनले यस विषयमा कुनै प्रमाण भने पेश गरेका छैनन् । अन्तर्राष्ट्रिय पर्यवेक्षकले पनि व्यापक मात्रामा ‘धोकाधडी’ भएको कुनै प्रमाण नभेटिएको उल्लेख गरेका छन् ।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडन जित नजिक पुगेपछि उनले यस्तो प्रक्रिया सुरु गरेका हुन । अहिलेसम्म बाइडनले २६४ इलेक्टोरल कलेज भोट प्राप्त गरेर जितको नजिक पुगेका छन ।

उनले यसअघि ट्रम्पले जितेको मिशिगन र विस्कोन्सिनमा महत्वपूर्ण जित हात पार्दै आफ्नो अग्रता कायम राखेका हुन् । यी दुई राज्यमा सन् २०१६ को निर्वाचनमा ट्रम्पले जितेका थिए ।

अब मतगणनाको नतिजा आउन बाँकी रहेका ५ राज्यमध्ये बाइडन नोभाडामा अगाडि छन् । बाइडनले आफूले अहिले अग्रता लिएका राज्यमा मात्र जित हात पारेको खण्डमा त्यो उनलाई ४६ औं राष्ट्रपति बनाउन पर्याप्त हुनेछ । यद्यपि यी यो राज्यमा बाइडन र ट्रम्पको ठूलो अन्तर भने छैन । यस्तोमा नतिजा जसको पक्षमा पनि जान सक्छ ।

ट्रम्पले भने अहिलेसम्म २१४ इलेक्टोरल कलेज भोट पाएका छन् । तर, उनी पेन्सिल्भेनिया, जर्जिया र नर्थ क्यारोलिनाजस्ता महत्वपूर्ण राज्यमा अगाडि छन् ।