प्रचण्डले त्यागे कार्यकारी अध्यक्षको पद !
काठमाडौं – नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ नेकपाको कार्यकारी पद ल्याग गरेको विश्लेषण गर्न थालिएको छ । पार्टीका ५ जना सदस्यहरुले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समक्ष सचिवालय बैठक बोलाउन लिखित माग गरेको घटनालाई लिएर राजनीतिक वृत्तमा प्रचण्डले कार्यकारी पद त्याग गरेको अर्थमा विश्लेषण गरिएको हो ।
आज पार्टी अध्यक्ष ओलीलाई भेट्न कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए।
‘केन्द्रीय सचिवालय बैठक बोलाउनको लागि अध्यक्ष केपी शर्मा ओलीसमक्ष लिखितरूपमा माग गरेका छौं’, प्रवक्ता नाराणकाजी श्रेष्ठले भने।
‘यदि प्रचण्डले कार्यकारी अध्यक्ष पदको अधिकार प्रयोग गरेको भए, उहाँले अरु चार जनाबाट निवेदन लिनु हुने थियो,’ ओली खेमाका एक सचिवालय सदस्यले भने,’ तर, आफैँले बैठक बोलाउन अध्यक्ष केपी शर्मा ओली समक्ष लिखित माग गरेपछि उहाँले कार्यकारी अध्यक्ष पद परित्याग गरेको रुपमा बुझेका छौं। अध्यक्ष दाहाल सहित भएर गरिएको सचिवालय बैठकको मागले नेकपाको एक मात्र निर्णयकर्ता केपी शर्मा ओली रहेछन् भन्ने प्रष्ट भएको छ।’
नेकपामा केही महिना अघि मात्र अध्यक्ष र महासचिव मिलेर बैठकको एजेण्डा तय गर्ने सहमती भएको थियो। ती सचिवालय सदस्यले भने ‘आज प्रचण्डले आफूले एजेण्डा तोक्न र बैठक वोलाउन सक्दिन भनेर निवेदन नै दिनुभयो। अब बैठकको एजेण्डा र मिती तोक्ने काम अध्यक्ष ओली र महासचिव मिलेर गर्नुहुन्छ। व्यवहार र आचरणद्वारा प्रचण्डले कार्यकारी पद परित्याग गर्नुभयो।’